वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
मामा कंस लगायत विभिन्न राक्षसी प्रवृत्तिको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन एवम् धर्म संस्थापन गर्न र अधर्मको नास गर्नका निमित्त वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णु भगवानको आठौँ अवतारका रूपमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
गौरा पर्व
खस राज्यको उद्गमभूमि तथा भाषा, संस्कृति, सभ्यताको जरा बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्र शुक्ल षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरी मनाइन्छ। गौरा पर्व विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरूलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
गौरा पर्व अथवा गौराष्टमीलाई दुर्वाष्टमीको नामले पनि चिनिन्छ । पूजनका हिसाबले गौरापर्वको अन्तिम दिन आज महत्वपूर्ण दिन हो। यस दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा सञ्जा लाई ल्याउने गरिन्छ।
आज 'दुर्वा' अर्थात् दुबोको पूजा गरिने हुँदा दुर्वाष्टमी भनिएको हो। अष्टमी र दुबो दुवै भगवतीका प्रिय छन्। त्यसैले गौरा पर्व मनाउने क्षेत्रमा आजको दिनको विशेष महत्त्व छ। यसका साथै तागाधारी पुरुषका लागि ऋषितर्पणी वा जनै पूर्णिमाको महत्त्व भएजस्तै तागाधारी नारी जातिका लागि आज विशेष महत्त्व छ। पवित्र धागोबाट निर्माण गरिएको 'दुबोधागो' लाई विधिपूर्वक अभिमन्त्रित गरी तागाधारी नारीहरूले आजकै दिन धारण गर्दछन्। पुरानो मान्यता अनुसार दुबो धागो ग्रहण नगरिएका महिलाले भात भान्सा र गौरा पुज्ने अधिकार पाउँदैनथे।
हिमालयकी पुत्री पार्वतीको अर्को नाम गौरी हो। 'गौरी' शब्द अपभ्रंश भएर यस पर्वलाई सुदूर पश्चिमेली स्थान विशेषको जनबोलीमा कतै गोस्रा, गौरा वा गमरा भनिँदै आएको छ। सांस्कृतिक तथा साङ्गीतिक पर्व गौरा सुदूरपश्चिम प्रदेशको बेग्लै धरोहर हो जसभित्र यहाँको समग्र लोक जीवन खुलेर उदाएको छ।