धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुद्धिकरणको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनरत पक्षले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षा बाहेकको सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतिष्ठानको सुद्धिकरणको माग गर्दै आन्दोलन गरेको ८० दिन पुग्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेकोले काम बहिस्कार गर्ने निर्णय गरेको सङ्घर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले बताए ।
बीपीको बेथिति र अनियमितताबारे छानबिन गर्ने तर दोषीलाई कारबाही नगर्ने, आन्दोलनरत पक्षसँग पनि सहमति मात्र गर्ने तर कार्यान्वयन गर्न चासो नदिने प्रवृत्ति पुनः दोहोरिएको भन्दै सङ्घर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले आन्दोलनले उठाएको मुद्दाहरूलाई सरकारले लिपिबद्ध गर्दै सम्झौता गरे पनि कार्यान्वयनमा ढिलाइ भइरहेकोले अब आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा छोड्ने बताए ।
उनले सरकारले कोभिड महामारीको बेलामा पनि स्वास्थ्य मन्त्री नियुक्ति नगरेको बताउँदै अबको आन्दोलन राजनीतिक दलका शीर्ष नेताहरुविरुद्ध पनि हुने बताए ।
        
                    
        
                                        
        
        
        
















        
        
















































