विराटनगर : धरानमा ८ जना सहित प्रदेश १ मा ४१ जनामा कोरोना सङ्क्रमण भएको छ ।
३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।
झापाको दमकमा ५, अर्जुनधारामा ३, हल्दिबारीमा २, गौरादह, मेचीनगर, बिर्तामोड, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको धरानमा ८, इटहरी र इनरुवामा २–२, मोरङको विराटनगरमा ३, उर्लाबारीमा २, सुन्दरहरैचा, रतुवामाई र लेटाङमा १–१, इलामको इलाम नगरपालिका र पाँचथरको फिदिममा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र २५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।