दमक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिलेको गठबन्धन सरकार स्वार्थले भरिएको बताएका छन् ।

झापाको दमकमा राप्रपा १ नम्बर प्रदेश कार्य समितिको प्रथम ऐतिहासिक एकता अधिवेशनलाई सम्बोधन गर्दे थापाले यस्तो बताएका हुन् । अहिलेको सरकार जनताको नभई सर्वोच्च अदालतको परमादेशबाट गठन भएको बताउँदै थापाले जनताका लागि सरकारले केही गर्न नसकेको आरोप लगाए । देशमा विकृति र विसङ्गति मात्र मौलाएको भन्दै थापाले अहिलेको सरकारले सिन्को भाँच्ने काम पनि नगरेको धारणा राखे ।

फरक प्रसङ्गमा अध्यक्ष थापाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै क्रियाकलापले पदमा बस्ने नैतिकता गुमाएको टिप्पणी गरे । प्रधानन्यायाधीश हटाउने नाममा संवैधानिक विधि प्रक्रिया अवलम्बन गर्नुको सट्टा प्रमुख राजनीतिक दलहरू मूकदर्शक भएर बसेको समेत उनको आरोप थियो ।

काँग्रेस र कम्युनिस्टबाट जनता वाक्क भएको बताउँदै थापाले राप्रपा मात्र काँग्रेस र कम्युनिस्टको विकल्प भएको बताए । आफ्नो पार्टी सङ्गठनात्मक रूपमा कमजोर भए पनि फरक बिचार बोकेको पार्टी भएकाले अबको निर्वाचनबाट राप्रपाले अप्रत्याशित परिणाम हासिल गर्नेमा दुई मत नभएको उनको दाबी थियो । थापाले अघिल्लो निर्वाचन परिणाम लाई हेरेर निराश नहुन समेत नेता कार्यकर्तालाई आग्रह गरे ।

अधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट ५ सय ५४ जना प्रतिनिधि सहभागी भएको प्रदेश संयोजक राम थापाले जानकारी दिए । अधिवेशन सोमबारसम्म चल्ने जनाइएको छ ।