धरान : नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न खोज्ने भूमाफियाहरु विरुद्ध आज बुधवार धराने नागरिक अगुवाहरूले प्लेकार्ड सहित मौन जुलुस प्रदर्शन गरेका छन् ।

छाता चौक देखी भानुचौक सम्म गरिएको प्रदर्शनमा मेयर तिलक राई, पूर्व उपमेयर मीनकुमार सुब्बा पनि सहभागी थिए ।

क्याम्पसको जग्गा बचाउन विद्यार्थी सङ्गठनहरूले छुट्टै आन्दोलन गर्दै आएका छन् । भूमाफियाको भण्डाफोर गर्दै दबाब दिन नागरिक आन्दोलनका लागि पूर्व नगर प्रमुख तथा पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा गठित नागरिक तहको जग्गा बचाउ समितिले सडक आन्दोलन सुरु गरेको हो ।

यसअघि समितिले आजै बिहान प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र मेयर तिलक राईलाई क्याम्पसको जग्गा बचाउन भूमिका खेल्नका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । संयोजक कार्कीका अनुसार सभामुखलाई उनकै धरान–१३ स्थित निवासमा तथा मेयर राईलाई उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो ।

मौन जुलुसमा सहभागीहरूले भूमाफिया विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । भूमाफियाहरु हो होसियार, होसियार, महेन्द्र क्याम्पसको जग्गा बचाउन धराने जनता एक होऔँ, नक्कली मोही खडा गर्नेहरूको भण्डाफोर गरौँ, भूमाफियाहरुबाट महेन्द्र क्याम्पसको जग्गा बचाऔँ आदि नाराहरू प्लेकार्डमा लेखिएका थिए ।

भानुचौकमा पुगेर धर्नामा उभिएका जुलुसका सहभागीहरूलाई सम्बोधन गर्दै संयोजक कार्कीले भने ‘धरानका नागरिकहरूले कुनै पनि हालतमा क्याम्पसको जग्गा हडप्ने भूमाफियाहरुको प्रयास सफल हुन दिने छैन ।’ नागरिक आन्दोलनका थप कार्यक्रमहरू आगामी दिनमा अघि बढ्ने बताउँदै उनले हाल बढेको कोरोनाको नयाँ भेरियन्टको महामारीमा कमी आउने बित्तिकै आन्दोलन सशक्त हुने बताए ।

तिन वर्ष अघि देखी चर्केको ‘नक्कली मोही काण्ड’मा क्याम्पसले भूमिसुधार मालपोत कार्यालय सुनसरी विरुद्ध कानुनी लडाई गर्न पुनरावेदन अदालतमा मुद्दा दायर गरेको छ । क्याम्पसको जग्गा बचाउन विद्यार्थी सङ्गठनहरूले छुट्टै आन्दोलन गर्दै आएका छन् । नागरिक तहबाट भूमाफियाको भण्डाफोर गर्दै दबाब दिन नागरिक आन्दोलनका लागि समिति गठन गरिएको बताइएको छ ।

२०३४ सालमा क्याम्पसले खरिद गरेको पानीट्याङी चौक धरान–११ स्थित १७ कट्ठा, १८ धुर जग्गामा ४१ वर्षपछि २०७५ मा आएर एकाएक नक्कली मोही खडा गरी भूमाफियाको गिरोहले क्याम्पसको जग्गा हडप्ने दुष्प्रयास विरुद्ध नागरिक आन्दोलन थालिएको हो ।

समितिले क्याम्पसको जग्गामा कहिल्यै पाइला नटेकेको, प्रमाण पुष्टि नभएको अज्ञात व्यक्तिलाई मोही खडा गरेर भूमाफिया जग्गा दलालका गिरोहले पवित्र शैक्षिक संस्थाको सम्पत्ति माथि कुदृष्टि गाडेको जनाएको छ । मौन जुलुसका बिच बजारमा वितरण गरिएको समितिको पर्चामा ‘यस्ता कुत्सित कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति समूह पहिचान गरी सामाजिक कारबाहीको दायरामा ल्याउन जरुरी भैसकेको छ ।’

मोही भनिएका डम्बरबहादुर घिमिरेको जग्गा खरिद गरेको २२ वर्षपछि २०५६ सालमा मृत्यु भैसकेको छ । उनको श्रीमतीको पनि २०६४ सालमा मृत्यु भैसकेको छ । मोही भनिएका व्यक्ति जीवित हुँदा कुनै किसिमको हक दाबी नभएको, भोग चलन समेत नभएको अवस्थामा मृत्यु भएको १९ वर्षपछि डम्बरबहादुरका हकवालाका रूपमा दाबी गर्ने यज्ञबहादुर क्षेत्री बिलकुलै प्रायोजित पात्र भएको बताइएको छ ।