इटहरी : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाडजोर्नी विभागका डाक्टहरुको आपसी विवाद सतहमा आएको छ ।

डाक्टर जस्तो प्रतिष्ठित पेसाकर्मीहरू प्रहरी चौकी सम्म पुगेर पोल खोलेपछि विवाद बढेको हो । कमिसनको प्रभावमा परेको भन्दै आरोप लाग्दै आए पनि पछिल्लो घटनाले डाक्टरहरूलाई नाङ्गो बनाएको छ ।

पौष २९ गतेको एउटा अपरेसनको घटनाले डाक्टरहरू बिच विवाद बढाएको हो । सिराहा कल्याणपुरका ललितकुमार शाहको अपरेसनमा प्रयोग हुने नेलको विषयबाट झगडाको बिउ रोपियो । सित्तैमा उपलब्ध हुने 'साइन नेल' लगाउने कि बिरामीलाई पैसा पर्ने खोक्रो नेल लगाउने भन्ने कुराबाट विवाद अगाडी बढ्यो ।

हाडजोर्नी विभाग टिम 'ए' का प्रमुख रोशन कुमार शाह कलवारको नेतृत्वमा अपरेसन हुने भयो । कलवारले निःशुल्क पाइने साइन नेल प्रयोग हुने जानकारी गराए। उनको टिममा डाक्टर अमित लिम्बु पनि थिए । थोरै मात्र जुनियर सिनीएर रहेका दुई डाक्टरको झगडा बढ्दै गयो । लिम्बुले खोक्रो नेल प्रयोग गर्नै पर्ने अड्डी कसे ।

त्यसपछि लिम्बुले नर्सहरूलाई समेत लिएर बाहिर निस्किए । कलवार एक्लै अपरेसन गर्न तम्सिए । अपरेसन पछि 'एक्स-रे' मा नेल गलत ठाउँमा परेको देखियो । त्यसपछि डाक्टर अमित विक्रम शाहले विभागीय प्रमुख डाक्टर विक्रम प्रसाद श्रेष्ठलाई फोन गरे । डा. श्रेष्ठले भने अनुसार नै गर्नुपर्ने डा. शाहले अडान लिए । डा. शाहले खोक्रो नेल प्रयोग गर्ने गरी पुनः साइन नेल निकालिदिए ।

३ घण्टामा सकिने अपरेसन ९ घण्टासम्म लम्बियो । बिरामीलाई दुई पटक बेहोस बनाउनुपर्‍यो । सोही दिन अपरेसन गराउने पर्खिएका अन्य ४ जनाले पालो पाएनन् । डाक्टरको झगडाले ४ बिरामीको अपरेसन १ साता पछि धकेलियो ।

अपरेसन पछि बिरामी ललितकुमार झनै तनावग्रस्त भएका छन् । डाक्टर बिचको विवाद बाहिर आएपछि उनी झनै पीडित महसुस गरिरहेका छन् । अपरेसनकै क्रममा कमिसनको कुरा उठेको उनले बताए । साइन नेल नलगाएर अर्को खोक्रो नेल लगाए पछि बिरामी ललित कुमारलाई शङ्का लाग्यो । उपचारको गुणस्तरीयतामा भन्दा पनि कमिसनको लोभमा झगडा भएको हुनसक्ने आशङ्का गरेका छन् ।

सोही विषयलाई लिएर डा. कलवारले ३० गते विज्ञप्ति नै निकाले । निःशुल्क पाइने साइन नेल प्रयोगमा बन्देज लगाएर बिरामीको खर्च बढाएको प्रति उनको आपत्ती छ । दलाल डिलर तथा पत्रकारलाई उकासेर आफू विरुद्ध लगाएको गुनासो सहितको विज्ञप्ति बाहिर आयो ।

साईननेल प्रयोग गर्दा पसलेको पसल नचल्ने डिलरको सामान नबिक्ने र सर्जनहरूले कमिसन नपाउने हुँदा सबैले आफ्नो विरोध गरेको उनले बताएका छन् । कमिसनको खेल पहिला देखिनै चलेको भन्दै उनले २० देखी २५ प्रतिशत कमिसन स्वभावीक भएको स्वीकार गरेका छन् । प्रतिष्ठान भित्र नपाइने सामग्रीको लागी डाक्टरले निजी क्लिनिक तथा डिलर सँग मिलेर कमिसन खाने गरेका हुन् ।

डाक्टर कलवारको भनाइलाई खण्डन गर्दै हाडजोर्नी विभागमा प्रमुख विक्रम श्रेष्ठ सहितको टोलीले छुट्टै विज्ञप्ति निकाल्यो । माघ ४ गते प्रकाशित विज्ञप्तिमा डा. रोशन प्रसाद शाह कलवारले हदैसम्मको व्यक्तिगत आक्षेप लगाएको उल्लेख गरिएको छ ।

चिकित्सकको पेसाको मर्यादा र गरिमा धमिल्याउने काम डाक्टर कलवारले गरेको उनीहरूको भनाई छ । प्राध्यापक डाक्टर श्रेष्ठ, रुटिन ओटी इन्चार्ज रुक्मा श्रेष्ठ, डाक्टर अमित विक्रम शाह र अमित लिम्बु लगायत नर्सहरूले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । संयुक्त विज्ञप्ति अनुसार संसारभर बढी प्रयोग हुने हेलो नेलको प्रयोगमा कलवारले समस्या सृजना गरेको उल्लेख छ ।

डाक्टर कलवारले साइन नेल विक्री गरे सँगै पछि बिरामीले प्रहरीलाई उजुरी दिएको र रकम फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ । तर बिरामी भने डाक्टरहरूकै दबाबमा प्रहरीमा गएको बताउँछन् ।

विभागमा दाखिला नगरुन्जेल साइन नेल प्रयोग गर्न नपाइने र हिसाब नमिल्ने भन्दै डाक्टर अमित विक्रम शाह र अमित लिम्बुको टिमले प्रयोग गर्न नदिएको विज्ञप्तिबाट बुझिन्छ। खोक्रो नेल छिराउने प्रक्रिया अगाडी बढेको बेला कलवारले जिद्धी गरेर साइन नेल नै छिराएको उनीहरूको दाबी छ । कलवारलाई आग्रह गर्दा पनि नमानेको र कलवारले नयाँ लटको साइन नेल ह्याम्मरले हानेर छिराएको आरोप लगाइएको छ ।

डाक्टरहरू बिचको झगडा जनवरी १३ कै दिन अस्पताल निर्देशकको कोठामा निर्देशक उपनिर्देशक र विभागीय प्रमुख सहितको बैठकमा घटनालाई बाहिर नल्याउने सहमति भयो । तर घटना बाहिर आएरै छाड्यो । डा. कलवारले आफूले भनेजस्तो नभएको र बिरामीको स्वास्थ्यमा खेलबाड भएको भन्दै विज्ञप्ति जारी गरे । बिरामीलाई धेरै मानसिक तथा शारीरिक यातना भएको उनले बताए ।

कलवारले भने विभागीय प्रमुख तथा केही सहकर्मीले आफ्नो काममा हस्तक्षेप गरेको बताएका छन् । दादागिरी शैलीमा प्रतिष्ठानले दिएको भन्दा बढी अधिकार प्रयोग गरी मलाई असहयोग गर्न नर्सहरूलाई दबाब दिएको उनको भनाई छ । नातावाद र जातीयताको कुरा झल्किने गरी अभिव्यक्ति दिएको कलवारको गुनासो छ ।

चाँडो हुने र त्यसको असर पनि कम हुने भएकाले आफूले साइन नेल प्रयोग गर्न भन्दा कनिष्ठ सहकर्मी अमित लिम्बुले दादागिरी शैलीमा अपरेसन कक्षमा संलग्न नर्सहरूलाई निकालेको उनको आरोप छ । सोही आरोप पछि विभाग प्रमुख डा. श्रेष्ठले कलवारलाई ३० दिनसम्म विभागबाट निष्कासित गरे । विभागका कुनै पनि जुनीयर डाक्टरहरूलाई निर्देशन दिन नपाउने भन्दै ३० दिनको लागी कारबाही गरेका हुन् ।

डाक्टरहरूको विवाद प्रतिष्ठान बाहिरसम्म पुग्यो । नेपाल अर्थोपेडीक एसोसिएसनले समेत यस बिषयमा चासो देखाएको छ । मंगलबार एसोसिएसनका पदाधीकारीहरुले विवादबारे जानकारी लिन प्रतिष्ठान पुगेका थिए । एसोसिएसनको इथिकल कमिटीका सदस्य डाक्टर यज्ञराज खरेलले डाक्टरहरू बिचको आपसी असमझदारीले समस्या बाहिर आएको बताए । उनका अनुसार डाक्टरहरू बिच कुनै पनि बैमनश्यता नराख्ने र सबैले आ-आफ्नो क्षेत्रमा काम गर्ने सहमति भएको छ । अहिले डा. कलवार माथिको कारबाही समेत फुकुवा गर्नेगरि सहमति भएको उनको भनाई छ ।

डाक्टरहरू बिच सहमति भए पनि नेपाल मेडिकल काउन्सिलले थप अनुसन्धान गर्ने भएको छ । पहिला हालिसकेको नेल निकालेर अर्कै नेल हालेको र बिरामीलाई लामो समय यातना दिएको भन्ने उजुरीको आधारमा छानबिन गर्ने भएको हो ।

Dr.-Bikram-Bigyapti Dr.-Kalwar-Bigyapti