झापा : झापाको अर्जुनधारा नगरपालिकाले नगरमा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिएको र स्वास्थ्यकर्मी समेत सङ्क्रमित भएको भन्दै नगरबाट प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरूको सुरक्षालाई ध्यानमा राख्दै नगर स्तरीय कोभिड सङ्कट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिस अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।
नगर प्रमुख हरिकुमार रानाद्वारा हस्ताक्षरित सूचनामा शनिश्चरे अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत नियमित औषधि सेवन गर्ने तथा ५ वर्ष मुनिका बालबालिकाका लागि मात्र बहिरङ्ग सेवा नियमित रूपमा सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै, नगरपालिका, वडा कार्यालय र विषयगत सेवा केन्द्रहरूमा न्यूनतम सेवा प्रदायक उपस्थित भई सेवा प्रवाह गर्ने, अत्यावश्यकबाहेकका अन्य सेवाहरू माघ १४ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ । उक्त अवधिमा सम्पूर्ण शाखाहरूले झ्यालबाटै सेवा प्रवाह गर्ने भएको छ ।