धरान : सरकारले पठाएका डा. श्यामसुन्दर यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सिनेट बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।

कपुरी न्युजसँग संक्षिप्त कुराकानी गर्दै डा. यादवले आफू माघ १० गते प्रतिष्ठान आइपुगेर प्रतिष्ठानका समस्याहरू नजिकबाट बुझेको र विभिन्न व्यक्ति र समूहहरूसँग अन्तर्क्रिया समेत गरिसकेको बताए। धरानका राजनीतिक दल र बुद्धिजीवीहरूले डा. यादवलाई प्रतिष्ठानमा सरकारले पठाउनु अवैधानिक भएको बताइरहेकै बेलामा उनले पनि आज प्रतिष्ठानको समस्या समाधान सिनेट बैठकबाट मात्रै हुने बताएका हुन् । उनले सिनेट बैठकको लागि पहल गरिरहेको पनि बताए ।

यसभन्दा पहिले नै आफूले बीपीमा पदाधिकारी बन्न आएको हैन भनेर अभिव्यक्ति दिइसकेका डा. यादवले आफू बीपीमा आउनु भनेको समस्या समाधानका लागि एउटा सहजकर्ताको भूमिका खेल्न आएको बताए।

प्रतिष्ठान नेपालकै ठुलो सम्भावना बोकेको इन्स्टिच्युट भएको बताउँदै उनले भने-यहाँ रहेका जनशक्ति र पूर्वाधार नेपालमा अरू कहीँ कतै छैन । त्यसैले यसलाई अन्तर्राष्ट्रिय स्तरमा ठुलो इन्टिच्युटकोरुपमा अघि बढाउन सकिने डा. यादवले बताए । उनले यसको लागि सबैले मिलेर अघि बढ्न सकेमा अन्तराष्ट्रियरुपमै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिनाउन सकिने बताए ।

बीपीमा तपाईँलाई सरकारले पठाएकोमा राजनीतिक दल लगायतले विरोध गरिरहेका छन् नि ? भन्ने प्रश्नमा उनले भने-सरकारलाई पनि बाध्यता छ । सिनेट नबसी केही गर्न मिल्दैन । लामो समय देखि प्रतिष्ठानको समस्याको सम्बोधन सरकारबाट भएन भनिएको थियो । तर सरकारले मलाई यहाँ पठायो ।

बीपीको लागि सरकारले केही गर्न खोजेको छ तर सरकारले केही गर्न खोज्दा सरकारले हस्तक्षेप गर्‍यो भन्ने बुझेर विरोध भइरहेको होला भन्दै डा. यादवले भने -यहाँ म कुनै भिसी र रेक्टर बन्न आएको हैन, प्रतिष्ठानको समस्या कसरी निराकरण हुनसक्छ म सहजकर्ताको भूमिका निभाउन आएको हो । दिनानुदिन प्रतिष्ठान धारासायी बनीरहेकोबेलामा यसलाई रोक्नका लागि मन्त्रीपरिषद्ले मलाई पठाएको हो डा. यादवले भने ।