इटहरी : इटहरी उपमहानगरपालिकाको मेयरमा पराजित रोहित प्रसाईँ पुनः चुनावी अभियानमा छन् । ५ वर्ष अगाडी चुनावी प्रतिस्पर्धामा पराजित उनी दोस्रो पटक पनि उम्मेदवार हुने तयारीमा लागेका हुन् । नेकपा एमालेका उम्मेदवार द्वारिकलाल चौधरी सँग पराजित उनले ५ वर्षमा जनतालाई ठुलो धोखा पुगेको बताउँछन् ।

केही महिना अगाडी सम्पन्न काँग्रेस महाधिवेशन देखी पुनः सक्रिय देखिएका प्रसाईँले आफू मेयर बनेर इटहरीलाई नेपालकै उत्कृष्ट सहर बनाउने योजना रहेको बताए । जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढिरहेको बेला प्रसाईँले हालका जनप्रतिनिधिको कारण इटहरी १० वर्ष पछि परेको बताए ।

इटहरीमा एमालेले नेतृत्व गरिरहेको स्मरण गराउँदै उनले यो असफल कार्यकालको परिणाम आगामी चुनावमा देखिने उनको भनाई छ । अब परिवर्तनको पक्षमा जनताले मत हाल्ने उनको विश्वास छ । काँग्रेसले बारम्बार खबरदारी गरिरहेको भए पनि मेयर उपमेयरले बेवास्ता गरेको उनको गुनासो छ ।

यसबिचमा सिएफएल बल्बमा भएको भ्रष्टाचार, कर्मचारीमाथि कुटपिट, पत्रकार माथि हमला देखी महिला माथिको अपमान स्मरण गर्दै उनले यो नेतृत्व अपरिपक्व र असक्षम भएको बताए । पाँच वर्षमा के भयो भनेर हेर्दा धुलोधुवा, बाढी, भ्रष्टाचार र व्यभिचारमा वृद्धि भएको मात्र देखिने उनको बुझाई छ ।

“सर्वप्रथम रोजगारीको अवसर सृजना गर्नु थियो । साना तथा मझौला उद्योगमा लगानीको वातावरण सृजना गराउनुपर्थ्यो । म उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा इटहरीलाई प्लास्टिक मुक्त सहर बनाएको थिएँ । हरित नगरी इटहरीको कन्सेप्ट ल्याएका थियौँ ।,” विगत स्मरण गर्दै उनले भने, “त्यसलाई अहिलेको सरकारले बोकेर हिँड्दा केही बिग्रिँदैन । तर अहिलेको इटहरी सरकार सानो सोच र सानो सपना भएका मान्छेहरू नेतृत्वमा पुगेको छ । जनताका ससाना समस्यामा पुग्ने भन्दा पनि ठुलो हल्लीखल्लीमा जनप्रतिनिधि रुमलिएका छन् ।”