इटहरी : नेपाली काँग्रेस इटहरीले टोल समिति विस्तारलाई तीव्रता दिएको छ। काँग्रेसको १४ औँ महाधिवेशन लगत्तै हुन लागेको स्थानीय तह निर्वाचनमा कार्यकर्ता परिचालनको लागि टोल देखी नै सङ्गठन विस्तार गरेको हो।
इटहरीका बिसै वडामा पुगेर दैनिक टोल समिति गठन हुने भएको छ। विगत १ महिना देखी जारी टोल समिति गठन कार्यक्रमले अगामी १५ दिनभित्र पूर्णता पाउने नगर सचिव विक्रम घिमिरेले बताए । उनका अनुसार यसअघि सङ्गठन विस्तारलाई तीव्रता नदिएको काँग्रेसलाई अब सशक्त रूपमा परिचालन गर्ने अभियान चलाइएको हो । 
टोल समितिमा युवा र महिलाको उपस्थिति बढेकाले अब काँग्रेसको विजय निश्चित भएको उनको भनाई छ। गाउँमा काँग्रेसको माहौल धेरै सकारात्मक भएको भन्दै उनले परिवर्तनको पक्षमा मत आउने उनको विश्वास छ । 
इटहरी ९ नम्बर वडा दक्षिणकाली टोल समितिका सभापति कमल घिमिरे पार्टीले जिम्मेवारी दिएकाले खुसी भएको बताए । पार्टीले हौसला प्रदान गरेको भन्दै अब नयाँ रणनीतिका साथ अगाडी बढ्ने बताए । घरघरमा गएर काँग्रेस विजयी गराउने अभियान चलाएर परिवर्तनको पक्षमा मत माग्ने उनले सुनाए । गाउँको समस्या र मुद्दालाई काँग्रेसले मात्र सम्बोधन गर्न सक्ने बुझाएर मत माग्ने काम भइरहेको घिमिरे बताउँछन् । 
टोल समिति विस्तारको जिम्मेवारी पाएको वडा कार्यसमितिले 'घरघर जाऔँ काँग्रेस जिताऔँ'अभियानलाई प्रचार गरिरहेको छ । यसअघि १२ वडा विजयी भएको काँग्रेसले यस पटक मेयर उपमेयर सहित दुईतिहाई बहुमत वडा विजयी गराउने लक्ष्य राखेको छ। इटहरी काँग्रेसले परिवर्तनको पक्षमा मत माग्ने रणनीति बनाएको छ।
टोल समिति गठनमा सक्रिय भएका युवा नेता रोशन तामाङ अब काँग्रेसले २० वटै वडामा विजयी हुने बताए । आफ पनि वडा नम्बर ४ को वडाध्यक्षको दाबेदार भएकाले अब काँग्रेसको विकल्प नभएको उनको विश्वास छ । गाउँ गाउँका युवाहरूले काँग्रेसको साथ खोजेको उनले सुनाए ।