चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसलाई प्राविधिक क्याम्पस बनाउने उद्देश्य सहित कार्य भइरहेको क्याम्पस प्रमुख खगेन्द्र निरौलाले बताएका छन्। शुक्रवार क्याम्पसले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई  शुभकामना तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा कृषि, वालि विज्ञान जस्ता प्राविधिक विषयहरू अध्यापन गराउने लक्ष्य रहेका बताए। 
उनले क्याम्पसले भोगचलन गर्दै आएको सरकारी जमिनलाई क्याम्पसको नाममा ल्याउन सबैले पहल गर्नु पर्ने बताए। क्याम्पसकालागि सावारि साधन, गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्थापन गर्न क्याम्पस प्रमुख निरौलाले जनप्रतिनिधिहरूलाई आग्रह गरे। उनले सन्त नेता पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रतिष्ठान स्थापना गरेर सरकारले शिक्षा तथा कृषिको क्षेत्रमा काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नगर प्रमुख रमेश कार्कीले क्याम्पसको नाममा दर्ता गर्ने कार्यकालागी पहल गर्ने बताए। वराहक्षेत्रबाट शिक्षा लिन इटहरी-धरान जाने बाध्यता हटाउन नगरपालिमा रहेका क्याम्पसमा थप विषयहरूको पनि अध्यापन गराउन नगरपालिकाको योजना रहने र सवारी साधन उपलब्ध गराउने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरे । 
क्याम्पस भित्र रहेको जमिनमा ५५ शय्याको ट्रमा सेन्टर असारको दोस्रो साता शिलान्यास हुने समेत नगर प्रमुख कार्कीले बताए। नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा क्यानडा सरकारको ५० करोडको आर्थिक सहयोगमा ट्रमा सेन्टर निर्माण हुने उनले जानकारी दिए। आर्थिक अवस्थाका कारण क्याम्पसमा अध्ययन गर्न समस्या हुने बिद्यार्थीहरुलाई नगरपालिकाले सहयोग गर्ने उनले बताए। आर्थिक रूपमा कमजोर बिद्यार्थीहरुलाई नगर र वडाहरूबाट छात्रवृत्तिको व्यवस्थापन गरिने उनको भनाइ छ ।
कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी राई, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम वडा नं ३ का अध्यक्ष राजदिप लामा त्यस्तै वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, वडा नं ६ का अध्यक्ष उद्भव प्रसार पोखरेल, वडा नं ८ का अध्यक्ष रोशन खड्का, वडा नं ७ का अध्यक्ष कपिल आचार्य वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवंशी वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ, वडा नं ६ का वडा सदस्य भोगेन्द्र डाँगी, दुर्गा गुरुङ लगाएको उपस्थिति रहेको थियो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष भुवनाथ दाहालको सभाध्यक्षमा आयोजना भएको कार्यक्रमको सञ्चालक सहप्राध्यापक राजन इसाराले गरेका थिए।