चतरा : सप्तकोशी नदीमा आएको बाढीले उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ८ डुम्री बोटे (लाहुरे खोज) मा तीव्र रूपमा कटान सुरु गरेको छ। पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले डुम्री बोटे भन्ने ठाउँमा कटान सुरु भएको हो ।
दैनिक रूपमा ३ देखि ५ मिटरसम्म भूभाग कोसीले कटान गरिरहेको छ । हालसम्म ४०-५० बिगा जमिन कोसीले कटान गरिसकेको बेलका नगरपालिका वडा नं ८ का वडाध्यक्ष जयकुमार राई बताउँछन् । हाल कोसी कटानको नियन्त्रणका लागी काम भइरहे पनि प्रभावकारी र दिगो हुन सकेको छैन । स्थानीयहरू प्राकृतिक रूपमा कटान नियन्त्रण गर्ने प्रयासमा छन् भने सरकार पनि बोरा लगाउने, गिट्टी लगाएर कोसी कटान नियन्त्रणको कार्य गरिरहेको छ । 
डुम्री बोटेमा कोसी कटान सुरु भएपछि उदयपुरको बेलका, चौदण्डी, सप्तरीको सप्तकोसी, कञ्चनरुप लगायत सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु समेत जोखिममा परेको छ।
सप्तकोसीको बाढीले पश्चिमतर्फको भू-भाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय गोपला मगर बताउँछन् । कटान नियन्त्रणलाई प्रभावकारी बनाई बस्ती संरक्षण गरी दिनुपर्ने स्थानीयहरूको माग छ । पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि बस्ती जोगाउनै समस्या पर्न थालेको स्थानीयहरू बताउँछन् । 
२ वर्ष यता सप्तकोसीको बाढीले पश्चिमतर्फको भू-भाग कटान गर्दा श्रीलङ्का टप्पुको २ हजार ५ सय बिघा खेतीयोग्य जमिन गुमाउनु परेको छ भने १ सय भन्दा बढी परिवार र एउटा विद्यालय विस्थापित भएको छ। 
बिहीबार डुम्री बोटेस्थित कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की पुगेका थिए । नगर प्रमुख कार्की सहित प्रमुख प्रशासकीय देवेन्द्र मल्ल, वडा नं ६ का वडाध्यक्ष उद्धवप्रसाद पोखरेल, लेखा अधिकृत वीरेन्द्र यादव, प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई, नगर प्रहरीको टोली निरीक्षणमा गएको थियो ।
स्थलगत निरीक्षण गरेका नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल दीर्घकालीन योजना बनाएर काम गर्ने बताए । जनता बचाउने कार्यमा स्थानीय सरकार लागेकाले कटान नियन्त्रणकालागि नगरपालिकाले प्रदेश सरकार, केन्द्रीय सरकार र बिहार सरकारसँग विशेष पहल गर्ने बताए ।
koshi-katan-2