चतरा : बुधवार बिहान उदयपुरको डुम्रीबोटेबाट फुटेको सप्तकोसी नदिको कारण जोखिममा परेको श्रीलङ्का टप्पुमा उद्दार र  आवश्यक तयारीका लागि वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की श्रीलङ्का टप्पु पुगेका छन् ।

सप्तकोसी फुटेपछि कोसीको पानीले घेरिएको टप्पुमा मेयर कार्की स्थानीयको आवश्यक्ता बुझ्न र तत्काल गर्नु पर्ने कामको बारेमा स्थानीयसँग जानकारी लिन टप्पु पुगेका हुन् ।

बुधवार दिउँसो सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख इन्द्रदेब यादव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली लिएर नगर प्रमुख कार्कीले श्रीलङ्का टप्पु पुगेका हुन् । टोलीमा वडा नं ६ का अध्यक्ष उद्धव पोख्रेल, नगर प्रहरीको टोली समेत टप्पु पुगेको थियो। टोलीले स्थानीयहरूको सुरक्षा र आवश्यकता बारे जानकारी लिएका छन् ।

वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलङ्का टप्पुमा करिब ८ सय परिवार बसोबास गर्ने गर्दछन् । कोसीको बाढीको जोखिममा रहेको टप्पुवासीलाई सुरक्षित स्थानमा ल्याउने विषयमा स्थानीय र सुरक्षा निकायसँग छलफल समेत भएको थियो । 

कोसी फुटेर आएको बाढी भन्दा श्रीलङ्का टप्पु केही उच्चस्थानमा भएकाले स्थानान्तरण गरी हाल्नु नपर्ने र केही दिन यस्तै बाढी आए राहतको आवश्यकता रहेको स्थानीयले धारणा रहेको थियो । पानीको बहाव बढे मात्र बस्तीमा पानी आउने खतरा रहेको तर टप्पु बाहिर जान समस्या भएकाले खाद्यन्नआवश्यक पर्ने स्थानीयको भनाई छ । 

बुधवार, बिहीबार टप्पु पुगेर स्थानीयको सुरक्षा र आवश्यकताको विषयमा चासो देखाई रहेका नगरप्रमुख कार्कीले स्थानीयको सुरक्षा र आवश्यकताको विषयमा नगरपालिका तयारी अवस्थामा रहेको छ । सुरक्षाको विषयमा ३ तहकै निकायसँग नगरपालिका सम्पर्कमा र राहतको लागि समेत प्रदेश स्तरीय , जिल्ला स्तरीय र नगर स्तरीय बिपत व्यवस्थापन समिति तयार रहेको नगर प्रमुख कार्कीले बताए । 

उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्रीबोटे (लाहुरे खोज) भन्ने ठाउँबाट सप्तकोसी नदी बस्ती तिर पसे पछि करिब २० हजार परिबार प्रभावित भएका छन् ।

२ सातादेखि  बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो । कोसी फुटेर बाढी बस्तीमा पसेपछि उदयपुरको बेलका सहित, चौदण्डीगढी नगरपालिका, सप्तरीको सप्तकोसी, कञ्चनरुप र सुनसरीको वराहक्षेत्र नगरपालिको श्रीलङ्का टप्पुका हजारौँ परिबार जोखिममा परेका छन् ।

Sirlanka-tappu