सुनसरी : आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रदेश संरचना खारेजीको माग राख्दै ठुला राजनीतिक दलसँग गठबन्धन गरेर चुनावमा जाने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल बताएका छन् ।
आज इटहरीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रदेश खारेजी मुख्य एजेन्डा लिएर चुनावमा जाने बताएका हुन् । 
देशले आर्थिक व्ययभार धान्नै नसक्ने अवस्थामा पुगेको र प्रदेश सरकारको औचित्य माथि प्रश्न उठ्दै गएको तथा देशमा दुई तहको सरकार भए नागरिकको समस्या हल हुने उनको दाबी छ। 
चुनावमा जाने विषयमा विभिन्न राजनीतिक दलसँग सहकार्य गर्ने छलफल चलिरहेको बताउँदै अध्यक्ष थापाले नेकपा एमालेसँग सकारात्मक छलफल भएको बताए । उनले भने "देखिएका समस्यालाई समाधान गर्न हामी एक्लै चुनाव लडे जित सकिदैंन ठुलो पार्टीसँग सहकार्य गर्ने तयारीमा छौँ त्यो नेकपा एमाले हुन सक्छ ।" आफ्नो पार्टीले देशभरबाट ५ देखि १० सिट माग्ने र त्यही अनुसार चुनाव जित्ने रणनीतिमा लागेको उनले बताए । 
उनले फरक प्रसङ्गमा अहिलेको सरकारले बहुमतको नाममा जबरजस्ती नागरिकता विधेयक पास गरेर नागरिकताको मूल्य कागजको खोस्टो बाडे सरह बाँड्न लागेको आरोप लगाए । राष्ट्रपतिले पुनर्विचार लागि पठाएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पास गराउनु बहुमतको दम्भ भएको टिप्पणी गरे । 
उनले बाहिरी देशबाट नेपालका नागरिकसँग बिहे गरेकै भोलिपल्ट नागरिकता दिलाउनु भनेको राष्ट्रघात रहेको बताए । उनले गठबन्धन सरकार जनताको हित विपरीत काम गरिरहेको समेत बताए ।