सुनसरी : डिएसपी मेरा मान्छे हुन् भन्दै छिमेकीलाई गालीगलौज गरेको आरोपमा इटहरी वडा नम्बर-१० काँग्रेस सभापति प्रकाश कोइराला पक्राउ परेका छन् । 

गत भदौ २५ गते राति करिब १० बजे मादक पदार्थ सेवन गरी छिमेकी सोनम अधिकारीको परिवारप्रति अपशब्द प्रयोग गरेको भन्दै वडा सभापति कोइराला पक्राउ गरेका हुन् ।  

२६ गते प्रहरी समक्ष उजुरी दिए पनि उनलाई प्रहरीले असोज १ गते हिजो मात्रै पक्राउ गरेको थियो ।

पीडितका छोरा सन्जोग अधिकारीका अनुसार मेयर र डिएसपी मेरा मान्छे हो भन्दै गाउँमा डर त्रास बढाउने काम गरिहरेको बताए । मादक पदार्थ सेवन गरेर गाउँमा होहल्ला गर्ने क्रियाकलाप पटक पटक गर्दै आएको उनले बताए । 

“म घरमा नभएको बेला हाम्रो घरमा आएर मेरो ममिलाई मुख छाडेर, कुट्न खोजेर, तेरो औकात के हो ? जस्ता अपशब्द प्रयोग गर्नु भएछ” उनले भने ‘उहाँ चुनावमा उठ्दा दिनरात सहयोग गरे । तर आज मलाई नि यस्तो गर्न खोज्नु भयो ।

भदौ २६ गते प्रहरीमा उजुरी दियौँ, हिजो पक्राउ पर्‍यो , अब किटानी जाहेरी दिन्छौँ,’ उनले भने ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्र खड्काले गाउँ घरमा झैझगडा भएको आरोपमा कोइरालालाई पक्राउ गरेको बताए । उनले घटनाको प्रकृति हेरेर के गर्ने भन्ने निर्णय लिने बताए ।