सुनसरी : सुनसरीका बराहक्षेत्र नगरपालिका-१ किरातचौकमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गएराति करिब १ बजे चतरा पकली सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्रदेश ३-०२००३ प ६७०५ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२०५० प ८२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकलको पछाडि बस्ने ताप्लेजुङका २५ वर्षीय स्यामु लिम्बुको उपचारका क्रममा चतरा अस्पतालमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सोही मोटरसाइकल चालक पाँचथरको कुम्मायक गाउँपालिका-२ घर भएका २६ वर्षीय प्रशान्त लावती घाइते भएका छन् । त्यस्तै ठक्कर खाने मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र-६ चकरघट्टी बस्ने २६ वर्षीय मुनिराज राई र पछाडि सवार खोटाङ घर भएका २६ वर्षीय वीरेन्द्र राई समेत घाइते भएका छन् । 

घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुई वटै मोटरसाइकल इलाका प्रहरी कार्यालय चतराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।