सुनसरी : इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले इटहरी चौकको नामकरण र शालिक राख्ने काममा दोहोरो चरित्र देखाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरको कार्यकक्ष घेराउ गरेको छ।
शुक्रवार प्लेकार्ड बोकेर उत्रिएका उनीहरूले विरोध गर्दै नगरको कार्यकक्ष नै घेराउ गरेका हुन् । उपमहानगरको गेटबाट विरोधमा उत्रिएका उनीहरूले पौडेल बस्ने कार्यकक्ष सम्म पुगेर चर्को नाराबाजी गरेका थिए ।
केही दिन अघि नगरप्रमुख पौडेले इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने सहमति भए पनि आफैले बोलेको बचन फेरेको भन्दै विरोधमा उत्रिनु परेको उनीहरूको भनाई छ ।
राप्रपा समर्थक विद्यार्थी सङ्गठन, युवा सङ्गठन, लगायतले इतिहास हामीलाई प्यारो छ.. मेयरको बोली अडिग रहोस्... लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए ।
वीरेन्द्र चौकको माग राख्दै आएका अभियन्ता बाबुराम प्रधानले इटहरीको मुख्य चौकका राजा वीरेन्द्र बाहेकको अन्य शालिक राखे अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । नगर प्रमुख पौडेलले केही समय अघि आफैँले बोलाएर वीरेन्द्रको शालिक राख्ने प्रतिबद्धता गरेको बताए ।
‘मलाई प्रत्यक्ष टेलिफोन गरेर तपाईँको घररमा भएको राजाको सालिक राखौँ भन्नु भयो,  हुन्छ राखौँ भनेर म फर्किए ।’ प्रधानले भने “तर त्यसपछि के भयो उहाँलाई एकाएक अनेक शालिक निर्माण गर्न थाल्नु भयो ।” प्रधानले मेयर पौडेलको दोहोरो चरित्रले आज यो आन्दोलन गर्न बाध्य भएको टिप्पणी गरे ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन प्रदेश एक संयोजक सुवास घिमिरेले राजा वीरेन्द्रको शालिक राख्ने सहमति नहुन्जेल आन्दोलन नटुङ्गिने बताए । ‘आन्दोलनको झिल्को सुरु भयो । अब हामी सशक्त आन्दोलनमा उत्रिन्छौ ।’ घिमिरेले भने । जब सम्म मेयर पौडेलले बोलेको बचन पुरा हुँदैन तब सम्म आन्दोलन जारी राख्ने बताए । उनले तत्काल राजाको सालिक नराखे चरणबद्ध आन्दोलनको घोषणा गर्दै नगरप्रमुखको कार्यकक्षमा ताला लगाउने समेत चेतावनी दिए ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुनसरी जिल्ला अध्यक्ष रमेश बजगाईँले चौकको इतिहासलाई जोगाउनु स्थानीय सरकारको दायित्व भए पनि आफै मास्न खोजेको बताए । उनले पुराना इतिहासलाई मास्न खोज्नु निन्दनीय भएको भन्दै वीरेन्द्र चौकलाई पुरानै अवस्थामा फर्काउनु पर्ने बताए । यदि आन्दोलनलाई बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम चाडै सार्वजनिक गर्ने समेत चेतावनी दिए ।