चतरा : प्रदेश नं १ सरकारका पूर्वमन्त्री जगदीश प्रसाद कुशियत एमाले-जसपा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनी २०७४ मा सुनसरी क्षेत्र नं. ४ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा  निर्वाचित भएका थिए । 
प्रदेश सभामा निर्वाचित भएपछि पहिलो प्रदेश सरकारको वन, वातावरण, पर्यटन, उद्योग मन्त्रीको जिम्मेवारी समेत जगदीश प्रसाद कुशियतले प्राप्त गरेका थिए । पर्यटकीय क्षेत्रको पर्यटन मन्त्री बनेका कुशियैतले बजेट पनि पर्यटकीय क्षेत्रको विकासमा विनियोजन गरेका थिए । तर मन्त्री कुशियतको बजेट जनस्तर भन्दा पनि सीमित मान्छे कै हातमा परेको देखिन्छ । 
जगदीश प्रसाद कुशियैत प्रदेश १ सरकारको वन, वातावरण, पर्यटन, उद्योग मन्त्री हुँदा उपलब्ध भएको पानीबोट राजाबासमा अलपत्र बनेको छ । उक्त बोट कुशियैत मन्त्री हुँदा तामझामका साथ उद्घाटन गरिएको थियो । २०७६ साल भाद्र २१ गते प्रदेश सरकारका वन, वातावरण, पर्यटन तथा उद्योग मन्त्री जगदीश प्रसाद कुशियैतले औपचारिक रूपमा उद्घाटन गरे पनि बोटको इन्जिनले काम नै गरेन । उक्त बोट प्रदेश सरकारको १३ लाख रकमबाट खरिद गरिएको थियो ।
त्यस्तै २०७५ सालमा प्रदेश सरकारबाट वराहक्षेत्र नगरपालिका वडा नं १० स्थित रामधुनि जङ्गलमा रामधुनि पिकनिक स्थलका लागि प्राप्त १५ लाख रकम पनि सदुपयोग हुन सकेन । कमसल सामाग्री र गलत व्यक्तिले नेतृत्व गरेका कारण प्रदेश सरकारको लगानी दुरुपयोग भएको छ भने निर्माण अलपत्र नै बनेको छ। वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित खस्रे टोल नजिकै प्रदेश सरकारबाटै आएको १५ लाख रकमले पनि जनतालाई खुसी पार्न सकेको छैन । सप्तकोसी पर्यटन विकास केन्द्र मातहत हुने गरी प्रदेश सरकारको तत्कालीन वन, वातावरण, संस्कृति, पर्यटन तथा उद्योग मन्त्रालयले १५ लाख उपलब्ध गराएको थियो । तर उक्त पर्यटन विकास केन्द्रको अत्तोपत्तो नै छैन । 
त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं ९ धरहरा टपनमा तत्कालीन मन्त्री कुशियतकै पहलमा १ करोडको लगानीमा निर्माणाधीन भ्यु टावरको हालत पनि उस्तै छ । कोसी कटानको जोखिममा रहेको टावर निर्माण कार्य अहिले अलपत्र परेको छ।
यसरी कार्यकर्ता पोस्ने उद्देश्यले जथाभाबी लगानी गर्दा राज्यको करोडौँ रकम बालुवामा पानी खन्याए जस्तो भएको स्थानीय बताउँछन् ।
koshi-alapatra-viewtower
jetbot-alapatra