सुनसरी : निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि मतदातालाई प्रभावित पार्न अनेक प्रलोभन देखाउन नपाइने भनेको छ । यदि त्यस्तो पाए कारबाही गर्ने भनेको छ । तर नेपाली काँग्रेसबाट निर्वाचित भएका सुनसरीको कोसी गाउँपालिका अध्यक्ष अयुब अन्सारी मतदातालाई प्रलोभन पार्दै मत मागिरहेका छन् । 
उनले गत बिहीबार बिहान कोसी गाउँपालिका २ मा भएको घरदैलो कार्यक्रममा मञ्चमा बसेर करिब ५ मिनेट भाषण गरे । उनले उराउँ समुदायका लागि आफू नेतृत्वको स्थानीय सरकारले बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुटको व्यवस्था मिलाइदिएको छु, आफू अध्यक्ष भएको गाउँपालिकामा धेरैलाई जागिरका अवसर प्रदान गरेको,  गाउँका पानी जम्ने सडकका खाल्डा पुरेको, ह्युमपाइप राखेको जस्ता काम गरेको भन्दै मत मागिरहेका थिए । उनले त्यति मात्रै हैन, अन्य कुनै पार्टीले यो क्षेत्रको विकास नगर्ने भन्दै रुख चिन्हमा भोट हाल्न तथा गाउँ टोलमा खबर गर्न समेत सभामा सहभागीलाई निर्देशन दिए । 
उनले मन्त्री भएर कुनै काम नगरेका र अत्यन्तै झुट बोल्ने एमाले नेता जगदिस कुसैयतलाई भोट नदिन अपिल समेत गरे । 
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी सेवा सुविधा उपभोग गर्ने कुनै पनि व्यक्ति वा कर्मचारीले कसैप्रति भोट माग्न नपाइने व्यवस्था गरेको छ । तर कोसी गाउँपालिका अध्यक्ष अन्सारी भने सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य गठबन्धनका उम्मेदवार तथा नेपाल सरकारका बहालवाला सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका पक्षमा घरदैलो कार्यक्रममा भाषण गरिरहेका भेटिन्छन् । 
जनतालाई प्रलोभन पार्ने देखि अन्य दलका चुनाव चिन्हमा भोट नै हाल्न नहुने, बिकासप्रेमी पार्टी काँग्रेसको चुनाव चिन्हमा भोट हाल्न अपिल गरिरहेका छन् । उनै अध्यक्ष अन्सारीले केही अघि मात्रै भोक्राहा नरसिंह गाउँपालिका २ मा भएको काङ्ग्रेस सहितको गठबन्धनको चुनावी कार्यक्रममा राष्ट्रपति माथि समेत आरोप लगाएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा काम गर्ने गरेको टिप्पणी गरेका थिए । उनले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न दिए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै नागरिकता नभएका जनतालाई नागरिकता दिनबाट रोक लगाएको आरोप लगाएका थिए । 
निर्वाचन आयोगका सहप्रबक्ता सूर्य प्रसाद अर्याल यस्तो कार्य गैरकानुनी भएको बताउँछन् । उनले यस्तो कहीँ कतै भेटे स्पष्टीकरण सोध्ने देखि नगद जरिवाना गर्ने समेत बताए । ‘सरकारी सेवा सुविधा लिएपछि कसैको पक्ष विपक्षमा भोट माग्न पाइँदैन ।’ अर्यालले भने "यदि यस्तो भेटे आयोग कारबाही गर्छ ।"