सुनसरी : भरखरै सम्पन्न भएको सङ्घ तथा प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष र समानुपातिक सांसदको लिस्ट हेर्ने हो भने धेरै जसो पुरानै अनुहार छन् । थोरै मात्रै नयाँ अनुहार छन् । जो संसद् बनेर पहिलो पटक संसद् भवनमा प्रवेश गर्दैछन् । तिनै मध्येका एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी । समानुपातिक प्रणालीमा थारु कोटाबाट संसद् बनेका अशोक एक सामान्य परिवारमा हुर्किएका ३९ वर्षीय युवा हुन् । 
इटहरी-५ पचरुखीमा जन्मिएका भएपनि आफ्नै क्षेत्रमा परिचित पात्र भने हैनन् । आफ्नो समुदायमा भने परिचित थिए । अशोक थारु कल्याणकारणी सभा इटहरीका सचिव हुन् । २०४० वैशाख ४ गते जन्मिएका चौधरी २०५८ सालमा कक्षा १० मा अध्ययन गर्दागर्दै नेपाली सेनामा भर्ती भए ।
सेनामा भर्ती भए सगैं उनले आफ्नो पढाइलाई अघि बढाउन सकेनन् । ४ वर्ष पछि २०६२ सालमा उनका हजुरबुवाको मृत्यु भयो । हजुरबुवाको मृत्युमा एक हप्ताको छुटी लिएर घर आएका उनी पारिवारिक समस्याका कारण २८ दिन घरमा बसे । आर्थिक अवस्था कमजोर भएका उनीको आर्मी हुँदा मासिक तलब ३ हजार तिन सय थियो । 
एक हप्ताको छुट्टीमा घर आएका उनी समयमा फर्किन नपाउँदा उनलाई कार्यालयले हाजिर हुन रोक लगायो । खादै आएको जागिर समेत गुमेपछि उनको आम्दानीको श्रोत नै गुम्यो । दुःख गरेर परिवार धान्दै आएका अशोक ऋण खोजेर वैदेशिक रोजगारका क्रममा २०६५ सालमा मलेसिया गए । 
४ वर्षको कमाइले आर्थिक स्तर पहिले भन्दा अलि सुधारिएपछि २०६९ साल असारमा नेपाल फर्किए । उनलाई विदेशमा रहँदा नेपालमा युवाले भोग्नु परेको पिडा र गरिबिको समस्याले हरेक दिन पिरोली रहन्थ्यो । उनी नेपाल फर्के लगत्तै यसलाई सुधार गर्ने भनेको राजनीतिले मात्रै हो भन्ने दिमागमा घुमिरहन्थ्यो । 
पुराना पार्टीका पुराना नेता र उनीहरूले गरेका हरेक गतिविधिलाई नजिकबाट हेरेका चौधरीले २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार दिए । उनले त्यो चुनावमा ८५ मत ल्याए लगत्तै आफ्नो रोकिएको पढाई पनि अघि बढाउने भन्दै इटहरीको जनता माध्यमिक विद्यालयबाट १२ वर्ष पछि एसएलसी पास समेत गरेका छन् । 
राजनीति जितको मात्रै हैन हारको पनि हो भन्ने बुझेका उनले समाजमा कुनै न कुनै समस्यामा सेवा गर्दै आएका छन् । चौधरीले आफ्नो घरमा किराना पसल तथा चुरा व्यापार गर्दै आएका छन् । गत असारमा स्थापना भएको रबी लामिछानेले नेतृत्व गरेको पार्टीबाट उनलाई इटहरी उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर आएपछि उनी पार्टीतिर लागेका थिए । 
उनी राजनीतिमा मात्रै सीमित छैनन् । खेल क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । सन् २०१९ मा थाइल्यान्डमा भएको डोरी तान प्रतियोगितामा उनको समूहले नेपाललाई पदक दिलाएको थियो । त्यस्तै जिल्लाको डोरी तान सङ्घको सहसचिव छन् उनी । इटहरी र आफ्नो क्षेत्र गहिरो रूपमा बुझेका चौधरी अब युवाको हातमा आएपछि  सुधारको आश्वासन बाँड्छन् । 
उनले आफू नीति तथा देशकै कानुन बनाउने ठाउँमा पुगेको भन्दैमा जनताको साना समस्यामा पनि उतिकै सक्रिय रहने बताउँछन् । मुख्य शिक्षा, स्वास्थ्य, रोजगार तथा समग्र विकासमा तिनै तहका सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताउँछन् ।