धरान : आज पुस २९ गते शुक्रवार बिहान ६ बजे धरानको चिसो ११ डिग्री सेल्सियस थियो । ठिक एक वर्ष अघि आजकै दिन सन् २०२२ जनवरी १३ बिहीबार पनि धरानको तापक्रम ११ डिग्री सेल्सियस थियो । दश वर्ष अघि सम्म पुस महिनामा धरानको तापक्रम न्यूनतम ५ डिग्री सेल्सियस सम्म झर्ने गरेको थियो । सर्वसाधारणलाई चिसो महसुस भए तापनि धरानको तापक्रम भने बढ्ने क्रममा रहेको यसबाट बुझिन्छ । यसपालि धरानमा सर्वसाधारणले पहिले भन्दा बढी हुस्सु लागेको देखे र सधैँ भन्दा बढी चिसोको अनुभव गर्दै आएका छन् । चार दशक अघिसम्म धरानमा हुस्सु लाग्दैन थियो । त्यसबेला चारकोशे जङ्गल निकै बाक्लो थियो । पछिल्लो समय यो जङ्गल पातलिँदै गएको छ । अझ कोसी राजमार्गको ६ लेनको सडकले जङ्गललाई थप नष्ट गरेको छ ।
जलवायु परिवर्तनको वैज्ञानिक कथनले पनि बनजंगलको विनाशले जलवायुमा विश्वव्यापी प्रभाव परेको बताउँदै आएको छ । कुनै बेला इटहरी सम्म मात्र आइपुगेको तराईको हुस्सु यसपालि धरानमा देखिनुमा पातलिएको चारकोशे जङ्गलमा ६ लेनको सडकले गरेको थप क्षतिको कारण नै हो बुढापाकाहरू बताउँछन् । यसले धरानको मौसमी जोखिम बढाएको छ र अहिले चिसो अनुभव गरिए तापनि तापक्रम भने घट्नुको सट्टा बढ्दै जाने सम्भावना छ ।
नौ वर्षअघि सन् २०१३ जनवरी १३ का दिन धरानवासीले पहिलो पटक अत्यधिक चिसो र बाक्लो कुहिरो बिच शितवर्षा भएको अनुभव गरे । देशभरि अत्यधिक चिसो अनुभव गरिएको बेला सामान्य स्थितिमा रहने धरानमा कुहिरो नलाग्ने र शितवर्षा हुने गरेको थिएन । त्यस दिन न्यूनतम तापक्रम ७ दशमलव शून्य थियो ।त्यसको अघिल्लो वर्ष तापक्रम ५ डिग्री सेल्सियस सम्म झरेको थियो । २०५० यता धरानमा न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ६३ सम्म रेकर्ड गरिएको थियो । पछिल्लो समय यसमा परिवर्तन हुदैं २०६८ मा न्यूनतम ५ डिग्री सेल्सियस तथा अधिकतम ३७ डिग्री सेल्सियस सम्म रेकर्ड गरिएको तथ्याङ्क पाइन्छ ।
यो तथ्याङ्कले यहाँको पर्यावरण तथा मौसम दशक यता द्रुतगतिले विग्रदों अवस्थामा जाँदै छ भन्ने देखाउँछ । धरान न पहाड न तराई दुवै भौगोलिक अवस्थाको बिचमा रहेको अत्यन्तै राम्रो पर्यावरण भएको बजार हो । यहाँ तराईको जस्तो शीत वर्षा नहुने भएकाले शीत लहरको खतरा हुदैन् ।
चार दशक अघि तिरको कुरा हो । दार्जिलिङका साहित्यकार तुलसी बहादुर अपतन पहिलो पटक धरान आउँदा यहाँको प्राकृतिक सौन्दर्ययतामा यहाँको मौसमले सुनमा सुगन्ध थपेको अनुभव स्थानीय साहित्यकारहरूलाई बताएका थिए । मौसमको विशेषताकै कारण यहाँ काग नदेखिएको उनले आफ्नो छोटो बसाइँको अनुसन्धानबाट पत्ता लगाएको छुट्टै रोचक अनुभव सुनाएका थिए ।
प्रकृति संरक्षणको कुरा चार दशक त्यति धेरै लामो समय भने होइन । प्रकृतिलाई नष्ट गर्ने हो भने यति धेरै समय चाहिँदैन । दुईचार वर्षमै बन जङ्गल मानव बस्तीमा परिणत हुनसक्छ । यसबाट प्रकृतिको मात्र विनाश हुँदैन त्यहाँको पर्यावरण पनि नष्ट भएर जान्छ । मौसम भनेकै पर्यावरणले सिर्जना गर्ने अनुकूल र प्रतिकुल हावापानी हो । सहरीकरणको चकाचौंधले अहिले सहरी विकास होइन कङ्क्रिटको जङ्गल बनाउने अभियान बढेको छ । राम्रो पर्यावरणका लागि चाहिने बोटबिरुवा लगाएर हरियाली बनाउने भन्दा भएको बोट बिरुवा पनि विनाश गरिंदैछ ।
कुनै बेला धरान गर्मीमा उग्र गर्मी, जाडोमा अत्यधिक जाडो हुने ठाउँ थिएन । सन्तुलित मौसम रहने धरानको पर्यावरण बिग्रिएको अनुभव हुनु चिन्ताको विषय हो । पछिल्लो समय धरानमा तापक्रम बढे पनि तराईको मौसम भित्रिएको अनुभव गर्न थालिएको छ । नगरको दक्षिण स्थित चारकोशे जङ्गल नष्ट हुदैं गएकोले यस्तो स्थिति उत्पन्न भएको पनि हुनसक्छ । धरानलाई तराई सँग छुट्याउने जङ्गलले तराईको शितलहरलाई अहिले सम्म छेक्दै आएको थियो ।
यहाँको पर्यावरणमा देखिएको बदलाव धरानवासीका लागि चिन्ताको विषय बन्नु पर्दछ । चारकोशे जङ्गल अहिले विभिन्न सामुदायिक बनको रूपमा विभाजित भएको छ । सामुदायिक वनहरूले बनको संरक्षण गर्दै आए पनि उत्तर/दक्षिण र पूर्व/पश्चिम यो बन पातलिदैं आएको सबैले देख्दै आएको हो । तर त्यसबारे चासो राख्ने कार्य कतैबाट भएको देखिन्न ।
यो जङ्गलको समुचीत संरक्षण नगरिने हो भने धरानको पर्यावरण आउँदा दशकमा अरू बिग्रिएर जाने निश्चित छ । साथै यहाँ भएको घर जग्गा प्लटिङको धन्धाले भएका बोट बिरुवाहरू सबै समाप्त गर्ने काम गर्दै आएको छ । बनेका नयाँ घरहरूमा फूलबारी बगैँचा देखिन्छ तर, पर्यावरणलाई संरक्षण गर्ने एउटै पनि रुख रोपिएको देखिन्न ।
२०४९ मा पहिलो पटक नगरपालिकाको प्रमुखमा निर्वाचित ध्यानबहादुर राईले पद बहाल गरेपछि धरानको पर्यावरण जोगाउन नगरपालिकाबाट नक्सा पास गर्दा घरको कम्पाउन्डमा एउटा रुख रोप्ने पर्ने नीति बनाएको थियो । उनी रहेसम्म त्यो नीति अवलम्बन भए पनि पछिबाट त्यसको अनुगमन गरिएन ।
पर्यावरणमैत्री राम्रो नीति त्यतिकै उपेक्षाको सिकार भएकोले पनि यहाँको मौसम मानव प्रतिकुल बन्दै जाने अवस्थामा पुगेको हो । राम्रा कुराको अनुसरण गरिनु पर्छ र धरानको पर्यावरण संरक्षणका लागि नगरपालिका/नागरिक समाजले ठोस पहल गर्नु आवश्यक भैसकेको छ ।