• रश्मि प्रधान
धरान : कोशी प्रदेश नामकरण खारेज गरी पुनः पहिचान सहितको नामाङ्कनको माग गर्दै आइतबार प्रदेश आम हडतालको आव्हान गरेका पहिचानवादीहरूले पूर्वसन्ध्या धरानमा आज शनिवार साँझ कोशी प्रदेश खारेजको नाराबाजी गर्दै राँके जुलुस प्रदर्शन गरेको छ । 
दुईतिरबाट आएको राँके जुलुस भानु चौकमा भेला हुँदा त्यहाँ तैनाथ प्रहरीले हस्तक्षेप गरेको थियो । भानु चौकमा सहभागीहरूबाट राँको खोसेर प्रहरीले निभाएको हो । प्रहरीले जुलुसमा हस्तक्षेप गरे पनि कसैलाई धरपकड भने गरेको देखिएन । यसै बिच भएको कोणसभामा सामाजिक अभियन्ता आङकाजी शेर्पाले सम्बोधन गरेका थिए । 
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको प्रमुख घटकहरू सहित राजनीतिक दलका पहिचानवादी सङ्गठनहरूका कार्यकर्ता राँके जुलुसमा सहभागी थिए । घटक सङ्गठन किरात याक्थुङ चुम्लुङको जुलुस भोटेपुल तिरबाट भानुचौक तर्फ आएको थियो ।
अर्का प्रमुख घटक किरात राई यायोक्खाको जुलुस यलम्बर भवनबाट पुतली बजार हुँदै भानुचौक तर्फ आएको थियो । राँके जुलुस नेपाल आदिवासी जनजाति महासङ्घ, राजनीतिक दलहरू जनता समाजवादी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध पहिचानवादी सङ्गठन सहित १४ वटा जातीय घटक सघ संस्थाले संयुक्त रूपमा प्रदर्शन गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै सामाजिक अभियन्ता तथा शेर्पालुङका आङकाजी शेर्पाले भने ‘कोशी प्रदेश कुनै पनि हालतमा मान्य हुँदैन, पहिचान सहितको पुनः नामाङ्कन नभए सम्म आन्दोलन नरोकिदैन ।’  उनले सम्पूर्ण यातायात व्यवसायी एवं व्यापारी बुद्धिजीवी लगायत सघ संस्थालाई बन्दलाई पूर्ण रूपमा सफल बनाउन सहयोग गर्न अपिल गरे । 
उनले कोशी प्रदेश नामकरण गर्ने पहिचान विरोधी तत्त्वहरूलाई परस्त गर्न आग्रह गर्दै भोलि आव्हान गरिएको आमहडतालको कार्यक्रम सहित संयुक्त सङ्घर्ष समिति चैत ५ गते सम्म आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिसकेको बताए ।