धरान : कोशी प्रदेश नामाङ्कन गरिए लगत्तै त्यसको विरोधमा सडक आन्दोलनमा उत्रिएको लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिको बुधवार काठमान्डुमा बसेको विस्तारित बैठकले फागुन २८ गते आधिकारिक प्रदेशव्यापी आम हडताल बन्द गर्ने निर्णय गरेको छ । 
बैठकले यसअघि नामकरण आन्दोलन गर्दै आएको समितिको परिवर्तित नाम ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ राख्ने निर्णय पनि गरेको छ । यसअघि समितिको नाम ‘लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समिति’ थियो । 
सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनका अनुसार बैठकमा किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासङ्घ र थप नयाँ पहिचानवादी घटक सदस्यहरू सहितको विस्तारित बैठकले संयुक्त आन्दोलनका कार्यक्रमहरू निर्धारण गरी सर्वसम्मतिबाट पारित गरेको छ।     
आन्दोलनका कार्यक्रमहरू फागुन २५ र २६ प्रदेश व्यापी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने र  स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गरिने निर्णय भएको छ  । कोशी प्रदेश नामका बोर्डहरू हटाउने, कोशी प्रदेश नामका लेटर प्याडहरू जलाउने अभियान सञ्चालन गरिने छ । 
कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म सङ्घर्ष समिति विस्तार गर्न समितिहरू गठन गरिने छ । पर्चा निर्माण र वितरण, भित्ते लेखन, उद्योगी, व्यवसायी, व्यापारी, यातायात लगायतका निकाय, व्यक्ति तथा संस्थाहरूसँग समन्वयनकारी बैठक बस्ने निर्णय गरिएको छ ।    
फागुन २७ प्रदेश व्यापी सबै नगर, गाउँपालिकाहरूमा राँके जुलुस गरिने छ । फागुन २८ गते पहिचानलाई पाखा लगाएर गरिएको कोशी प्रदेश नामाङ्कन विरुद्ध प्रदेश व्यापी आम हडताल गरिने छ । आम हडताल पछि पनि पहिचान सहितको पूनः नामाङ्कन नभए चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गरिने तथा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने छ । 
यसअघि हिजो किरात मोर्चा नामक सङ्गठनले कोशी प्रदेशको नामाङ्कन विरोध गर्दै फागुन २६ गते आम हडताल सहितको बन्द आव्हान गरेको विज्ञप्ति सामाजिक सञ्जालमा आएको थियो । केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातको नाममा जारी विज्ञप्तिमा कोशी प्रदेशको विरुद्धमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै बन्दको आव्हान गरिएको छ ।