धरान : मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूको विवाद चुलिएको बेला उपमेयर आइन्द्रविक्रम बेघाले धरान उपमहानगरपालि भित्र नीति निर्माणको भूमिका गर्न निकै अप्ठ्यारो स्थिति रहेको बताएका छन् । 
धरानमा आज आयोजित जीवन विकास लघुवित्तको कार्यक्रममा प्रमुख अतिथि बेघाले भने ‘उपमहानगरपालिका भित्र मुस्काउँदा, रिसाउँदा, सुझाव दिँदा, सुझाव लिँदा गाली खाने निकै अप्ठ्यारो स्थिति छ ।’
उपमहानगरपालिकामा उत्पन्न विवाद तर्फ सङ्केत गरे तापनि उनले कसैको नाम उल्लेख गरेनन् । बाटो बिराउनेहरू र बाटो बिराएर 'म' वादको बाटोबाट अगाडी बढनेहरुले सामूहिकतामा जीवन देख्नु पर्ने उनले बताए । 
बेघाले भने ‘एक जनाको सोच बिचारले मात्र अघि बढ्न सम्भव छैन, जोडिएर अगाडी बढ्न जरुरी छ । 
‘विधि र पद्धति प्रक्रियालाई आत्मसात् गर्नुपर्ने’ कुरामा जोड दिदैं उनले भने ‘योग्यता, क्षमतामा विधि र प्रक्रिया जोड्नु पर्छ ।’
क्षमता र पहुँच छ भन्दै विधि प्रक्रिया र पद्धतिलाई पन्छाएर अगाडी बढ्न खोजियो भने कहिल्यै नउक्सिने बरु भड्खालोमा परिन्छ, भन्ने उनको भनाई थियो ।
त्यो अवस्थामा ‘राम राम भन्दा भन्दै काँध लगाउँदा लगाउँदै चिप्लिएर अगाडी बढे राम राम मात्र भन्न सकिने काँध हाल्न नसकिने उपमेयर बेघाले बताए ।
उनले अहिले आफू राम राम भन्दै अगाडी बढेको र सच्चिएर र सच्याएर अगाडी बढ्नु पर्ने प्रयासमा रहको उनको भनाई थियो ।
उनले घमण्ड दम्भ देखाएर अगाडी बढ्ने होइन बाटो बिराएर होइन बाटो देखाएर अगाडी बढ्नु पर्ने पक्षमा आफू रहेको उल्लेख गरे । 
उपमेयर बेघाले ‘घमण्ड दम्भ र अरूलाई दमन गर्ने हैसियतमा अगाडी बढ्नेले बाटो बिराउँदै बाटो छोड्दै भूमिका बिर्सेर ट्र्याक भन्दा बाहिर’ जान लागेको बताए। उनले भने ‘सामूहिकताको भावनाले मात्र मुलुक अगाडी बढ्छ ।’