धरान : धनकुटाको चौबिसे गाउँपालिका वडा नं.५ कि पूर्व जनप्रतिनिधि पदमा लिम्बु (सीता) आफ्नो अधुरो सपना पुरागर्न ४२ वर्षको उमेरमा २६ वर्षपछि स्कुलमा फर्किएकी छिन् ।

भविष्य बनाउन सम्पत्ति भन्दा ठुलो शिक्षा रहेको भन्दै शिक्षा प्राप्त गर्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण समाजलाई प्रस्तुत गर्न खोजी रहेकी छिन ।

२०७४ सालको स्थानीय निर्वाचनमा चौबिसे गाउँपालिका वडा नं.५ बाट वडा सदस्यमा निर्वाचित भएकी पदमा जिल्ला समन्वय समिति धनकुटाको सदस्यमा समेत निर्वाचित भइन । उनले राजनीति जीवन सँगै सामाजिक क्षेत्रमा समेत योगदान दिइरहेको बताइन ।

धरान-८ स्थित सहिद स्कुलमा कक्षा ८ मा अध्ययनरत पदमा स्कुल छेउमै डेरा लिएर नियमित रूपमा स्कुल पोसाकमा स्कुल धाउँछिन्। पढ्न अत्यधिक रुचाउने पदमा आफ्नो कान्छो सन्तानमा भन्दा कम उमेरका विद्यार्थीहरुसंग स्कुलले जीवन बिताइरहेकी छिन् ।

सपना साकार बनाउने उद्देश्यले कक्षा ८ बाट पढाई सुरु गरी आज भन्दा २६ वर्ष अगाडीको स्कुलले जीवनलाई पूर्णता दिन छोरा छोरीको उमेर भन्दा कान्छो पुस्तासँग अध्ययन गरिरहँदा सबैको साथ र सहयोग रहेको उनले बताइन ।

उनले 'पढ्नको लागि उमेरले फरक पार्दैन पढ्नको लागि उमेर वाधक हुँदैन' भन्ने सन्देश समाजलाई दिइरहेकी छिन् ।

उनले भनिन 'टाढा स्कुल र परिवारको आर्थिक अवस्था साथै पारिवारिक बाध्यता'ले पनि आफ्नो पढ्ने सपना अधुरो रहेकोले त्यसलाई पुरा गर्नको लागि पढ्न सुरु गरेको बताइन ।

पढ्नको लागि घर परिवारले समेत प्रोत्साहन गरिरहेकोले कक्षा १२ सम्मको अध्ययन पुरा गर्ने अठोट लिएको र अठोट पुरा गर्ने लक्ष्य र उद्देश्यका साथ आफू पढ्न सुरु गरेको पद्माले बताइन ।

पूर्व जनप्रतिनिधि पदमा २ छोरी र १ छोरा गरी ३ सन्तानकी धनी रहेकी छिन । दन्त चिकित्सक समेत रहेकी उनकी जेठी छोरी  हाल कुवेतमा छिन् भने कान्छी छोरी युकेमा छिन् । छोरा काठमाडौँमा स्नातक तहको अध्ययन गर्दैछन ।

घर परिवारबाट पनि आफूलाई सहयोग मिलेको र श्रीमानले पनि पढ्नलाई प्रोत्साहित गरी घर व्यवहार समालेर आफूलाई पढ्न उत्प्रेरित गरेको पद्माको भनाई रहेको छ ।

२६ वर्ष अगाडी आफूले पुरानो कोर्ष अध्ययन गरेको भए तापनि परिमार्जित नयाँ कोर्ष पढ्न पाउँदा मनमा कौतुहलता पैदा भएको कस्तो होला! के होला ! भन्ने जिज्ञासा र उत्सुकताका साथ पढेमा ध्यान दिएर पढेकोले नयाँ कोर्ष पढ्न सहजता पैदा भएको बताइन ।

पदमाले भनिन 'आफूलाई गाउँकै शिक्षकले प्रोत्साहन दिई सहिद स्कुलको बारेमा जानकारी दिएकाले स्कुलको स्थलगत अध्ययन गर्दा शान्त वातावरणमा राम्रो पढाई हुने स्कुलमा रूपमा पाएकोले आफूले सहिद स्कुल छनौट गरेको हुँ ।'

सम्पत्ति भन्दा ठुलो शिक्षा रहेकाले सम्पत्ति कमाएर मात्रै नहुने रहेछ भनेर शिक्षालाई प्राथमिकता दिएको उनको भनाई छ। पढाई अधुरो राखेर बसेका महिला दिदिबहिनीहरुलाई अनुरोध गर्दै उनले भनिन् 'उमेर बुढो भएर केही फरक पर्दैन जीवनमा शिक्षा भन्दा अमूल्य केही हुँदैन।"

प्रधानाध्यापक रामबहादुर विष्टले भने "उहाँले युवा पुस्तालाई पढ्न हौसला प्रदान गर्नु भएको छ, उहाँबाट पुराना पुस्तालाई शिक्षाको महत्वको झल्काएको छ।"

उनले भने सहिद स्कुलले सबै उमेर समूहका मानिसलाई अभिभावकत्व प्रदान गर्ने भएकाले पढ्न छोडेर बसेका सम्पूर्ण आम समुदायलाई  स्कुलमा स्वागत रहेको बताए ।

सहिद स्कुलले पढ्नको लागि प्रोत्साहन गर्ने भन्दै शिक्षा मानव जीवनको लागि अपरिहार्य कुरा हो जसलाई ग्रहण गर्न उमेर वाधक हुँदैन भन्ने सन्देश दिने प्रधानाध्यापक विष्टले बताए।

padma-limbu-2