धरान : दुर्व्यसनी पतिबाट दिनहुँ हुने घरेलु हिंसा पीडित धरान-१७ की ३३ वर्षिया दुई छोरीकी आमा तुलसादेवी रिजाल अब आफै चटपटे व्यवसाय गरी आत्मनिर्भर बन्ने भएकी छन् ।

उनलाई व्यवसाय गर्न हेल्पिङ हेण्डस् दुबईका अध्यक्ष ईश्वर श्रेष्ठले ४५ हजार रुपैयाँको ठेला सहित पुँजीका लागि २० हजार सहयोग गरेका छन् । जापानमा रहेकी अनिता केसीले १० हजार रुपैयाँ र धरानकी रोजी ताम्राकारले चटपटे बनाउन भाँडाकुँडा प्रदान गरेकी छन् ।

धरान हेल्पिङ हेण्डसको संयोजनमा जुटेको उक्त सहयोग सोमबार हस्तान्तरण गरिएको छ । उक्त सहयोग तुलसादेवीको अवस्था उल्लेख गर्दै महिला सञ्जालकी पूर्व अध्यक्ष सबिता राईले सामाजिक सञ्जालमा गरेको सहयोगको याचनाबाट जुटेको हो ।

सहयोग हस्तान्तरणको अवसरमा तुलसादेवी सोही पोष्टको आधारमा आफूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्नका लागि ठुलो सहयोग जुटेको बताउँदै सहयोगी दाताहरूलाई धन्यवाद सहित आभार प्रकट गरिन् ।

पीडित तुलसादेवीका पति लागूपदार्थ दुव्र्यशनमा फसेका थिए । उनलाई सुधार्न प्रयास गरे पनि सुध्रिनुको साटो उल्टै दिनहुँ कुटपिट गर्नुका साथै मानसिक यातना दिने गर्दै आएका थिए । तुलसाले त्यस्तो घरेलु हिंसा सहेर १५ वर्ष बितेको बताइन् ।

उनले भनिन् ‘दिनहुँको कुटपिटको घट्नापछि छरछिमेक समाजले हरेक पटक सम्झौता गर, परिवारले मिल, मिल्नुको विकल्प छैन मात्र भन्छ ।’ उनले पतिको कुटपिटले शरीर थिलथिलो भएको, मन मरेकोले आत्महत्या गर्ने सोचमा पुगेको बताइन् ।

कुटाइ र दुर्व्यवहार सहन नसकेपछि आफैले दुःख गरेर बनाएको घरबाट समेत दशैंको मुखमा छोरीहरू लिएर निस्किनु परेका पीडा उनले सुनाइन् । भनिन् ‘अहिले धरान-१७ रेल्वेमा गोठ जस्तो ठाउँमा बसेको छु ।'

समाज र परिवारले अझै मिल्न पर्छ भन्यो भने आत्महत्या गर्न बाध्य हुने बताएकी छन् । उनले भनिन् ‘लोग्नेसँग बस्दिन बरु ठेलामा चटपटे बेचेर भए पनि छोरीहरूलाई पढाउँछु गरी खान्छु, बाँच्न चाहन्छु ।’ छोरीहरू पढेको र गरिखाएको हेर्ने चाहनाले सहयोगका लागि सामाजिक सञ्जालमा आग्रह गर्न आफूले याचना गरेको उनले बताइन् ।

helping-hands-sahayog-2