विराटनगर : प्रदेशमा जङ्गली हात्तीको उत्पात बढेको, हात्ती आक्रमणमा सर्वसाधारणको मृत्यु भएको समाचार आइरहेका बेला कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गली हात्तीलाई व्यवस्थापन गर्न हात्ती कोरिडोर बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने कुरा बताएका छन् ।

पर्यटन वन तथा वातावरण मन्त्रालयको बिहीबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘हामी भारतको हात्ती आयो भन्छौँ तर हात्ती आउन दिने वातावरण बनाऔँ । हात्ती हेर्ने पर्यटक भित्र्याएर हामीले पर्यटनको विकास पनि गर्न सक्छौँ ।’

उनका अनुसार जङ्गली जनावरको वासस्थान सङ्कटमा पर्दै गएको छ । खानेकुराको समेत अभाव हुन थालेको छ । जङ्गलमा भएका खानेकुरामा मानिसको हस्तक्षेप हुन नहुने र यो भए जनावर गाउँ नपस्ने बताउँदै हत्ती कोरिडोरको लागि प्रदेश सरकारले पहल गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले भने ‘कोरिडोरमा भएका स्थानीयलाई मुआब्जा दिएर अर्को बस्तीमा स्थानान्तरण गर्न सरकार तयार छ, कोरिडोर अवलोकन गर्न पर्यटकलाई समेत लैजान सकिने भएकाले यसबाट पर्यटन प्रवर्द्धन हुन्छ ।’

पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रथम चौमासिक गोष्ठीमा मुख्यमन्त्री कार्कीले बजेट कार्यान्वयनका लागि हिँडेर नपुगिने दौडनु पर्ने अवस्था भएको बताए । कुनै पनि बहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने उनको भनाई थियो ।

बजेट कार्यान्वयनका लागि आइपर्ने समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले यसबारे अध्ययन गरी निष्कर्ष ल्याउन निर्देशन दिए । मुख्यमन्त्री कार्कीले वनसँग पर्यटन जोडिएको उल्लेख गर्दै वन हुँदै पर्यटकको माध्यमबाट आर्थिक चलायमान पनि बढ्ने उल्लेख गरे ।

दुई दिने गोष्ठीमा कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कोशी प्रदेशका प्रमुख सचिव डा.दीपक काफ्ले, प्रकृति संरक्षण कोषका अध्यक्ष लगायत १४ वटै जिल्लाका बन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् । 

elephant