धरान : महिला उद्यमी व्यवसायीको उत्पादन, व्यवसायलाई बजारीकरण गर्न झुनास फिट्नेसले तेस्रो ‘मार्केट मार्च’ मिनी मेला आयोजना गर्दै छ ।

फागुन २८ र २९ गते चल्ने २ दिने मार्केट मार्च अन्तर्राष्ट्रिय महिला दिवस ११४ को अवसरमा गर्न लागेको हो । ३० वटा स्टल रहने मिनी मेला धरान-१९ विकास मार्ग बिपी डेन्टल गेट अगाडि झुनास फिट्नेस एन्ड वेलनेसमा लाग्ने छ ।

‘मार्केट मार्च’को बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा झुनास फिटनेस सञ्चालिका झुना राईले भनिन्, ‘मार्केट मार्चमा महिला उद्यमीद्वारा उत्पादित सामान बजारीकरण गर्न बिक्री र प्रदर्शन गरिने छ ।’

उनले महिला अधिकार श्रमिक महिलाको आन्दोलनबाट स्थापित भएकोले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर रोजिएको बताइन् । भनिन्, ‘महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सके स्वतःआत्मविश्वास बढेर जान्छ ।’

फिट्नेसले ३ वर्ष देखि एकल प्रयासमा महिलाहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्न प्रदर्शनी र बिक्रीको व्यवस्थापन गर्दै आएको छ ।

मार्केट मार्चमा हेण्डिक्राफ्टका सामग्री, घर सजावटका समान, बुटिक तथा दैनिक प्रयोग हुने कपडाहरू, लोकल तथा पहाडी भेगका खाद्यान्नहरू, अर्ग्यानिक तरकारी र फलफूल, नर्सरी, उनीका कपडा, अचारहरू, जातीय परिकारहरू महिला उद्यमीका उत्पादन स्टलमा पाइने छन् ।

यसपालि स्टलमा विशेष रूपमा नेपाल पब्लिकेसनका किताबहरू उपलब्ध हुनेछ । महिला दिवसको अवसरमा उद्यमी, व्यवसायी महिलाहरूको जमघट बढाउन पनि मार्केट मार्च आयोजना गरिएको उद्यमी सविता राईले बताइन् ।

उनले भनिन्, ‘मार्केट मार्चले महिला उद्यमीहरू बिच सहकार्य बढाउनेछ ।’ महिलाहरूको मनोबल उच्च बनाउँदै महिलाहरूलाई उद्यमी बनाउन योगदान पुराउन विश्वास व्यक्त गरिन् ।