धरान : नेपाली सेनाको काली शक्ति इन्जिनियरिङ गणको सहकार्यमा बिपी प्रतिष्ठान स्थित धरान गल्फ कोर्स परिसरमा ड्राइभिङ रेन्ज र पार्किङ एरिया निर्माण गरिएको छ ।

धरान गल्फ क्लब र नेपाली सेनाको इन्जिनियरिङ गणद्वारा निर्मित ड्राइभिङ रेन्ज र पार्किङ एरियाको नेपाली सेनाको पूर्वी पृतनापति उपरथी डा.आशबहादुर तामाङले आज बुधवार उद्घाटन गरेका छन् ।

उपरथी डा.तामाङले नेपाली सेनाको जनतासँग जोडिने नीति तथा कार्यक्रम अनुसार सेनाको दक्ष जनशक्तिबाट उक्त निर्माण कार्य भएको बताए । उनले भने, ‘शारीरिक तथा मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण भएकाले खेलकुद क्षेत्रमा पूर्वाधार निर्माण गरिएको हो ।’

निर्माण कार्यको लागि धरान गल्फ क्लबले निर्माण सामाग्री उपलब्ध गराएको हो । नेपाली सेनाको काली शक्ति गणका दक्ष जनशक्तिले निर्माण कार्य सम्पन्न गरेको क्लबका उपाध्यक्ष हरि राईले बताए ।

नेपालकै पुरानो १८ होलको अन्तर्राष्ट्रिय गल्फ कोर्स २०१८ सालमा ब्रिटिस क्याम्प घोपा रहेको बेला स्थापना भएको हो ।