धरान : सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले आइतबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी इलाम-२ मा हुने उपनिर्वाचनमा मञ्च पहिचान पक्षधर साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई पक्षमा रहेको जनाएको छ ।

मञ्चले बझाङ प्रदेश सभा १ ‘क’ मा मञ्च सम्बद्ध उम्मेदवार उठाउने घोषणा पनि गरेको छ ।

मञ्च अध्यक्ष कुमार लिङदेनले प्रदेश नं १ को नाम षडयन्त्र पूर्वक कथित कोशी नामकरण गरिएकोले कोशी नाम विरुद्ध एक जुट भई पहिचान प्राप्तिमा केही अंश भएपनि सहयोग पुग्ने हेतुले पहिचान पक्षधर उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरिएको बताए ।

पार्टीले २०६२ साल देखि निरन्तर पहिचान प्राप्तिका लागि जोड दिएर सङ्घर्ष गरे पनि हाल सम्म पहिचान प्राप्त नभएकाले नैराश्य पैदा भई केही साथीहरूले साथ छोडेको बताउँदै अध्यक्ष लिङदेनले भने, ‘पहिचान भन्ने कुरा जटिल रहेछ, साथीहरूले बाटो बिराए पनि सत्यको जित अवश्य हुन्छ ।’

मञ्चले पहिचानको प्राप्तिको आन्दोलनलाई सशक्त बनाउन भदौ २७ गते धरानमा ६ वटा जन वर्गीय सङ्गठनहरूको राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको उनले जानकारी दिए ।

मञ्चले महाधिवेशनमा १० प्लस १ पहिचानको आन्दोलनलाई सशक्त बनाउन ५० हजार क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । संयुक्त महाधिवेशन भदौ २७, २८ र २९ गते चल्ने महासचिव भूपेन्द्र लावतीले बताए ।

महाधिवेशनले मञ्च सम्बद्ध जनवर्गी सङ्गठनहरू लिम्बुवान भोलेन्टियर्स, लिम्बुवान महिला मञ्च, सङ्घीय विद्यार्थी युनियन, भूमि अधिकार मञ्च, भुपुसैनिक मञ्च, तुम्याहाङ मञ्चको नेतृत्व फेरबदल गरी नयाँ कार्यसमिति चयन गर्नेछ ।