वराहक्षेत्र : गएका वर्षहरूको तथ्याङ्कका आधारमा डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले आर्थिक रूपमा कमजोर परिवारका बिरामीहरूलाई डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ ।

नगर प्रमुख रमेश कार्कीका अनुसार डेङ्गु रोगको लक्षण देखा परेका बिरामीहरूलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण, जीवन जल र आवश्यक औषधिहरूको व्यवस्थापन गर्ने छ । यसलाई चतरा अस्पताल, नगर अस्पताल, मधुवन प्राथमिक स्वास्थ्य केन्द्र लगायतका संस्थामा आवश्यक तयारी र व्यवस्थापन गरिनेछ ।

बुधवार स्वास्थ्य कार्यालय सुनसरीले वराहक्षेत्र नगरपालिकामा आयोजना गरेको डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले व्यक्तिगत सरसफाइ, घर वरवरको सरसफाइमा लाग्न नगरवासीलाई आग्रह गरे । घर वरवरको पानी जम्ने खाडन पुर्न, पानी जम्न नदिन, सरसफाइमा लाग्न र डेङ्गुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।

नगरपालिकाले डेङ्गु सङ्क्रमणलाई विपथकै रूपमा लिएर व्यवस्थापन, आवश्यकतालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभावकारी रूप दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सामाजिक सङ्घ संस्थालाई प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने लार्भा सर्च एन्ड डिस्ट्रोयर्ड (खोज नष्ट गर) अभियान आयोजना गरिने उनले बताए ।

डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत कटुवाल, वडाध्यक्षहरू, स्वास्थ्य कार्यालय सुनसरीका प्रतिनिधिहरू, नगर स्वास्थ्य शाखा, नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, पत्रकारहरूको सहभागिता रहेको थियो ।

baraha dengue 081-03-19

baraha dengue 081-03-19 2nd