धरान : धरान देखी तरहरा जान गत जेठ ९ गते सार्वजनिक बसमा चढेकी धरान-५ देउरालीकी सरिता सुनुवार (सरस्वती) सेउती पुल छेउ दुर्घटनामा परिन् ।

लगत्तै उनलाई दुर्घटना गर्ने बस सूर्योदय यातायात मे १ ख २७९० बसकै सहचालकले विपी प्रतिष्ठानमा उपचारका लागि पुर्‍याए । आमालाई अस्पताल पुर्‍याएपछि दुर्घटनामा परेको थाहा पाएको छोरी विमला सुनुवार लिम्बुले बताइन् ।

बिपीबाट विराटनगर रेफर

वीपीले दोस्रो पटक उपचार गर्न लैजाँदा सरिताको टाउकोको नशामा चुँडिएको भनेको थियो । विपीमा उपचार हुन नसकेपछि उनलाई न्युरो हस्पिटल विराटनगर पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार नभएपछि काठमाडौँ पुर्‍याइएकी सरितालाई अहिले केएमसी अस्पतालमा बन्धकका रूपमा रहेकी छन् ।

डाक्टरले पटक पटक डिस्चार्ज गरेर लैजानु भने पनि उपचारको बिल १४ लाख रुपैयाँ भुक्तान नहुँदा अस्पताल प्रशासनले डिस्चार्ज नदिँदा बन्धकका रूपमा रहेकी हुन । अस्पतालको विल धेरै आएको थाहा पाएपछि उपचार खर्चको जिम्मा लिएको कम्पनीका व्यक्ति सम्पर्क विहीन भएकोले उनी बन्धक बनेकी हुन ।

उपचारको जिम्मा यातायात भलाई ईन्भेष्टमेन्ट प्रालिले लिएको थियो 

छोरी विमलाका अनुसार दुर्घटनापछि उपचार गर्न इलाका प्रहरी इटहरीका डिएसपी टेक बहादुर कार्कीको रोहबरमा यातायात भलाई ईन्भेष्टमेन्ट प्राली इटहरीबाट केशव अधिकारीले उपचार खर्च सबै तिर्ने सहमतिको कागज गरिएको छ ।

वीपी प्रतिष्ठानमा सरिताको २ वटा करङ भाँचिएर फोक्सोमा समस्या भएको देखाउँदै डिस्चार्ज दिएको थियो । डिस्चार्ज दिएको ३ दिन पछि आँखामा समस्या आएपछि पुनः यातायात भलाई इन्भेष्टमेन्ट प्रालीका अधिकारीलाई फोन सम्पर्क गर्दा फोन नउठाएको छोरी विमलाले बताइन् ।

पछि छिमेकी आकाश लिम्बुले फोन गर्दा मात्र अधिकारीले फोन उठाएर ‘उपचार गर्न लैजानु सबै रकम आफू आएर तिर्ने’ बचन दिएपछि फेरी विपी हस्पिटल लगेको उनले बताइन । दोस्रो पटकमा विपीले आमाको टाउकोको नशामा चुँडिएको भनेपछि न्युरो हस्पिटल विराटनगर पुर्‍याइएको थियो ।

yatayat-bhalia-investmentविराटनगरमा उपचार नभएपछि काठमाडौँ 

न्युरो हस्पिटलमा पनि आँखामा झनै समस्या देखिएकाले उपचार हुन नसक्ने भनेपछि ग्लोबल आँखा अस्पताल पुर्‍याएको र उसले ग्रान्डी हस्पिटल रिफर गरेको थियो । तर यातायातका मानिसले तिलगंगा अस्पताल काठमाडौँ लगेको छोरी विमलाले बताइन ।

तिलगंगाले पनि उपचार गर्न नसक्ने भन्दै न्युरो हस्पिटल बाँसबारी काठमाडौँ रिफर गर्‍यो । बाँसबारी न्युरोमा अप्रेसन शुल्क महँगो हुने मन्दै बिरामी सरितालाई ग्रान्डी हस्पिटल लैजानका रिफर मागियो । यातायातका मानिसले ग्रान्डी नलगी टिचिङ हस्पिटल लगेको उनले बताइन् । 

विमलाले भनिन ‘टिचिङ हस्पिटल लैजाने कुरा मलाई थाहा पनि थिएन एकै चोटि टिचिङ लगियो ।’ टिचिङले हस्पिटलले पनि उपचार गर्न नसक्ने भएपछि केएमसी हस्पिटल लगिएको उनले बताइन् ।

२ दिनमै केएमसीको बिल १४ लाख   

केएमसी हस्पिटलमा साउन २३ गते भर्ना भई २४ गते अप्रेसन भएपछि साउन २७ गते नै डिस्चार्ज दिएको थियो । काठमाण्डौंमा यातायातको तर्फबाट नवराज बस्नेतले हस्पिटलमा उपचार खर्च सबै व्यहोर्ने सम्झौता गरेका थिए ।

अस्पतालले डिस्चार्ज गरे पनि यातायातका नवराज बस्नेत सहित अन्य व्यक्ति सम्पर्क विहीन भए । केएमसी हस्पिटलले औषधीको ८ लाख र अप्रेसन चार्ज ६ लाख सहित कुल १४ लाख रुपैयाँको बिल दिएको छ । विमलाले भनिन् ‘बिलको रकम सुनेपछि यातायातका मानिस सम्पर्क विहीन भएका छन् ।’

हारगुहार गर्दै यातायातका मानिसको खोजी 

यातायातका मानिसहरू सम्पर्क विहीन भएपछि आमालाई अस्पतालबाट निकाल्न नसकिएको उनले बताइन् । भनिन् ‘हामीसँग त्यति रकम नभएकाले केएमसी हस्पिटलले आमालाई बन्धक बनाएको छ ।’ सबैतिर हारगुहार गरेपनि केही नलागेको बताउँदै विमलाले यातायातका व्यक्तिहरू खोजी गर्दै आइतबार धरान आएको बताइन् ।

पटक पटक इटहरी स्थित प्रालीका अधिकारीलाई फोन गरेपनि फोन उठाइरहेका छैनन् । इलाका प्रहरी इटहरीका डिएसपी कार्कीले गाडी र ड्राइभर नियन्त्रणमा लिएका थिए ।

औषधी उपचार नभएको भनी निवेदन दिए पनि इलाका प्रहरी इटहरीका डिएसपीले ड्राइभरलाइ छोडी दिएका छन् । उनले प्रश्न गरिन् ‘कस्तो नियति हो यो ? यो देशमा नियम कानुन छैन, पीडित जहिले पीडित हुनुपर्ने हो ?’