धरान : दशैं लगायत चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न कोशी प्रदेशमा १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने कुरा प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताएका छन् ।

उनले भने ‘प्रहरी जनशक्तिलाई पर्व बिदा नदिई शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न खटाइने छ ।’

सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित छलफलमा सोमवार उनले उक्त कुरा बताएका हुन । एसएसपी दाहालका अनुसार

सङ्कटग्रस्त इलाकालाई विशेष ध्यान दिएको छ । सुरक्षा प्रदान गर्न राज्यले दिएको स्रोत साधन प्रयोग गरी प्रदेश प्रहरीले दैनिक १ हजार २४ जना प्रहरी फिल्डमा खटाएको छ ।

उनले भने ‘५ सय देखि ६ सयको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू, ओसारपसार गर्नेहरू जोगबनी जाने आउने गर्दछन् ।’ त्यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारको पहलमा नाकाहरूमा विशेष तालिम दिएर सादा पोसाकमा विशेष प्रहरी खटाइएको दाहालले बताए ।

कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले सचेत नागरिक भई समस्या न्यूनीकरण गर्न आग्रह गरे । भड्किलो चाडपर्व मनाउन थालिएकोले हैसियत अनुसार कम खर्चमा चाडपर्व मनाउन अनुरोध गरे । उनले भने ‘चाडपर्व व्यवस्थित गर्न सबै नागरिकले सभ्य नागरिकको पहिचान दिनुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले मेला, महोत्सव र भिडभाड र जुवातास निषेध गरिएको बताउँदै भने ‘कँहीकतै जुवातास होहल्ला र कालोबजारी भएमा असल नागरिक भई तुरुन्त खबर गर्नुहोला हामी तत्काल सुरक्षाकर्मी खटाउँछौँ ।’

सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले उद्योगी व्यवसायीले सदैव सजगता अपनाउनुपर्ने भएकाले पनि यस्ता छलफल अरू समयमा पनि बेलाबेला राख्नु पर्ने बताए । अमानवीय र चोरी डकैतीका घटना बढेकाले नागरिक आफै सचेत, जिम्मेवार र सजग हुनुपर्ने बताए ।नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले शान्ति सुरक्षा दसैँ तिहारमा मात्र नभएर सधैँ चाहिने भएकाले सुरक्षा संयन्त्र जहिले अलर्ट हुन जरुरी रहेको बताए । धरानमा चाडबाडमा मात्र असुरक्षित नहुने भन्दै लागूपदार्थ प्रयोगकर्ता र ओसारपसार गर्ने अखडा रहेको धरान सधैँ असुरक्षित रहेको बताए ।

उनले भने ‘चाडपर्वको बेला वर्षमा एक पटक मात्र बजार अनुगमन र चेकिङ हुने गरेको छ, अनुगमन र चेकिङ सधैँ हुनुपर्‍यो ।’ सङ्घका सदस्य जयप्रकाश शर्माले धरानमा बाढी पहिरो भएमा सुरक्षा व्यवस्था कति चुस्त दुरुस्त छ ? भनी प्रश्न गरे ।

जसपाका ताजुब लिम्बु ,नेकपा एमालेका हर्कजंग एभेङ, सुनसरीका एसपी सुमन तिम्सिना लगायतले कालोबजारी नियन्त्रण र शान्ति सुरक्षाको विषयमा बोलेका थिए । उद्योगी व्यवसायी शिवराज श्रेष्ठ, शान्ता निरौला, सन्तोष काफ्लेले कालोबजारी नियन्त्रण गर्न ध्यानाकर्षण गराए । कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरेका थिए ।