धरान : दशैंको सातौँ दिन सप्तमी फूलपातीको दिन आज बिहीबार धरान स्थित प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरमा विधिवत् फूलपाती भित्र्याइयो छ ।

दुर्गा भवानीको नौ रूपमध्ये कालरात्रि स्वरूपको आज विशेष पूजा आराधना गरी दन्तकाली शक्तिपीठमा फूलपाती भित्र्याइएको हो । फूलपातीको दिन देशभरका शक्ति पीठहरूमा फूलपाती भित्र्याइयो चलन छ ।

सोही परम्परा अनुसार धरान-१४ स्थित दन्तकाली मन्दिरमा हर्षबढाइँ गर्दै फूलपाती भित्र्याइयो हो । नेपाली सेनाको काली शक्ति गण, सशस्त्र प्रहरी तथा स्थानीय समुदायको लावा लस्कार दन्तकालीबाट पिण्डेश्वर मन्दिर पुगेर फूलपाती ल्याइएको थियो ।

आज दिउँसो साइत अनुसार हर्षबढाइँका साथ फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौकादरले दुर्गा पूजा गरेको स्थानमा भित्राइएको हो । बिहानै ३ जना पुजारी गएर नौ किसिमका फूल र पाती सङ्कलन गरी राखेका थिए ।

मन्दिरका मूल पुजारी विश्वराज खनालका अनुसार विगतमा फूलपाती स्थानीय गाउँलेहरूले भित्राउने गरेका थिए । २०६२ सालदेखि नेपाली सेना र सशस्त्र प्रहरी पनि मन्दिरमा आएर फूलपाती चढाउन थालेको हो । उनले भने ‘त्यसपछि फूलपाती भित्राउने अनुष्ठानको महिमा बढ्दै गएको छ ।’

२०७४ सालको स्थानीय चुनावपछि भने नेपाली सेना र सशस्त्र प्रहरीको सहभागितामा बाजागाजासहित फूलपाती भित्राउने परम्परा सुरु भएको धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । फूलपाती भित्राउँदा घर घरबाट स्थानीयहरूले फूलपाती चढाउने गरेका छन् ।

कोरोना सङ्क्रमणको समयमा वृहतरुपमा फूलपाती भित्राउने कार्य प्रभावित भएको थियो ।

उनले गोरखापछि धरानको दन्तकाली मन्दिरमा नेपाली सेनाको सलामीसहित फूलपाती भित्राउने प्रचलन रहेको बताए । दन्तकाली मन्दिरमा फूलपाती भित्राएपछि मात्र सबैको घर घरमा दशै प्रवेश गर्ने मान्यता रहेको छ ।

fulpati-dharan-3fulpati-dharan