धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीले अबको चुनाव एक्ले लड्ने बताएका छन् ।

काठमाण्डौंमा आज भएको खबरदारी सभामा उनले भने ‘अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने छौँ ।’

उनले काँग्रेस, एमालेलाई ‘बेइमान दल’ भएको बताउँदै उनीहरूसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउने बताए ।

माओवादी घटकहरूको एकता र नेकपा माओवादी केन्द्रको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले भने ‘माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ भएकोले जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीमा माफी दिँदै साथ दिनेछन् ।’

उनले अब जनताका छोराछोरीलाई बन्दुक होइन, उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए ।

अध्यक्ष प्रचण्डले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्ने बताए । उनले भने ‘प्रतिपक्षको खबरदारीलाई सामान्य रूपमा लिए सरकारले नसोचेको मूल्य चुकाउनु पर्छ ।’

माओवादी नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको बताउँदै उनले सरकार सच्चिनु पर्ने आग्रह गरे । भने ‘नत्र संसद् र सडकमा तपाईँहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको कल्पना सकारकामा बस्नेहरूले गरेको छैन ।’

अध्यक्ष प्रचण्डले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बाल मन्दिर लगायतका काण्ड कहाँ पुग्यो भनी प्रश्न गर्दै भने ‘यसको प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’

उनले सरकारले बाढी पहिरोको क्रममा चरम लापरबाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनर्स्थापनामा लापरबाही नगरोस् भन्दै खबरदारी गरे ।

अध्यक्ष प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका काँग्रेस एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोमा विरोध गरे । उनले संसदीय समितिले काँग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएकोमा आपत्ति जनाए ।

उनले आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्य संयन्त्रलाई निर्देशन दिएको बताउँदै भने ‘स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् ।’

अध्यक्ष प्रचण्डले कतिपयले आजको खबरदारी सभालाई रवि लामिछानेलाई बचाउने सभाको रूपमा गलत व्याख्या गरेको उल्लेख गर्दै भने ‘दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्ता पक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारबाही गर्ने प्रवृत्तिको विरोध गर्नै पर्छ ।’