धरान : नेवार समुदायले घर परिवारमा मनाउने सांस्कृतिक पर्व म्ह: पूजा तेस्रो पटक धरानमा सामूहिक रूपमा आयोजना गरिने भएको छ ।

मिसा दबुले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । नेपाल संवत् ११४५ नयाँ वर्ष कछलाथ्व पारु तिथि तदनुसार कार्तिक १७ गते शनिवार सामूहिक रुपमा म्ह: पूजा हुने भएको छ ।

नेवा: मिसा दबु, नेवा: ल्याम्ह दबु सुनसरीको आयोजना र नेवा: देय दबू धरान सहकार्यले सामूहिक म्ह: पूजा  गर्ने भएको हो ।

म्ह: पूजा संयोजक लक्ष्मी प्रधानले कोशी प्रदेशमा मिसा दबु सुनसरीले सामुहिक रुपमा म्ह: पूजाको सुरुवात गरेको बताइन् । संस्कार र सस्कृती एक बनाउन सामुहिक रुपमा म्ह: पूजा आयोजना गरिएको उनले बताइन् ।

सामूहिक म्ह: पूजामा ५० जनाको सहभागिता रहने छ । दर्ता शुल्क ५ सय रुपैयाँ राखिएको छ । पूजा धरान-७ सिद्धि नेवा: परिषद्मा हुनेछ ।

परिवारका सदस्यहरू भेला भई आ-आफ्नो मण्डल अगाडि बसेर आफूले आफैलाई पूजा गर्ने प्रचलन म्ह: पूजा हो । यसलाई नेवा: समुदाय एक परिवार बिचमा मनाउन सामूहिक रुपमा आयोजना गरिएको बताइएको छ ।

कार्यक्रमको प्रवर्द्धन धरान उपमहानगरपालिका र नेवा: देय दबु धरानले गरेको छ । व्यवस्थापन नेवा: सांस्कृतिक उत्थान मञ्च, नेवा पत्रकार दबु सुनसरी, नेवार एकता समाज सिद्धि नेवा परिषदले गरेको  छ ।