धरान : सुनाखरी स्कुलले धरान नगर स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी स्कुल कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फा एकेडेमी तथा सुनसरी जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराइने सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
स्कुलका प्रिन्सिपल मिलन राईले प्राथमिक तह, प्लस टु वा कलेज तहका विद्यार्थीको फुटबल धेरै आयोजना भइरहेकोले कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर छुट्टै फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।
धरान–१२ स्थित चतरालाईन स्थित सुनाखरी एकेडेमीले आयोजना गर्न लागेको निम्न मावि÷मावि तहको यो पहिलो फुटबल प्रतियोगिता हो ।
प्रतियोगितामा धरान उपमहानगर क्षेत्रका २० वटा स्कुलहरू सहभागी हुने बताइएको छ । प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार, उपविजेतालाई नगद २५ हजार ट्रफि मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा अनुमानित ४ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको प्रिन्सिपल राईले बताए । प्रतियोगिताको संयोजकमा प्याप्सन तथा एन प्याप्सन धरान नगर समिति रहनेछ ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले कूनैपनि प्रतियोगिताहरूले फुटबल खेलको विकासमा ठुलो टेवा पुग्नाको साथै खेलाडीहरूमा भएको क्षमता प्रोत्साहित गर्ने अवसर पनि हुने बताए ।एन्फा एकेडेमीका यु–१३ का प्रशिक्षार्थीहरू सुनाखरी एकेडेमीका विद्यार्थी हुन ।