धरान : सुनसरी जिल्ला अदालतमा बाल यौन दुर्व्यवहारमा चलिरहेको मुद्दालाई प्रभावित गर्न महिला अगुवाहरूबाटै प्रयास भइरहेको पीडित किशोरीले बताएकी छन् ।

धरान ११ स्थित सामुदायिक विद्यालय ज्ञानोदय माविका शिक्षक गोपाल गुरागाईँले छात्राहरूलाई यौन दुर्व्यवहार गरेको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको फैसला हुनुअघि आर्थिक प्रलोभनमा मिलाउन खोजिएको बताइएको हो ।

शिक्षक गुरागाईँले पटक पटक छात्राहरूलाई हात सुमसुम्याउने, ढाडमा तथा शरीरमा छाम्ने जस्ता क्रियाकलाप गर्ने गरेको अभियोगमा अदालतमा मुद्दा परेको छ । अदालतमा मुद्दा चलिरहेको अवस्थामा राजनीतिक दलहरूसँग सम्बद्ध इटहरीका महिला अधिकारकर्र्मीबाट मिल्न दबाब दिइएको पीडितले बताएका हुन ।

मुद्दाकी वादी सिम्रन राईले स्कुलमै भेटेर रकम दिने प्रलोभन दिएको खुलासा गरेकी हुन । महिला अधिकारकर्मीले उनलाई प्रकाशपुर स्थित घरमा ४ पटक भेटेर मुद्दा कमजोर बनाउन फकाउँदै रकम दिएको खुलासा भएको हो ।

मुद्दा कमजोर बनाउन पटक पटक स्कुलमै आएर भेट्ने र पैसा दिने गरेको बताउँदै राईले भनिन् ‘मुद्दा कमजोर बनाइदेऊ, तिम्रो इज्जत जान्छ यस्तो केसमा अल्झिनु हुँदैन, पछि बिहे हुँदैन जस्ता कुरा गरेर फकाउने गरेको छ ।’

अदालतमा समेत बयान दिँदा पनि भनेको आफ्नो कुरा नलेखिदिएको राईले बताइन् । सञ्चारकर्मीहरूको पनि आफूलाई कमजोर बनाउन व्यक्तिगत जीवनको कुरा गरेको गुनासो पोखेकी छन् ।

एसईई दिने विद्यार्थीलाई नियम विपरीत अर्को विद्यालयमा सरुवा गरिएको छ । उनलाई हाल शिक्षकहरूको मिलेमतोमा प्रकाशपुर स्थित विद्यालय सरुवा गराइदिएका छन् । प्रकाशपुरको विद्यालयमा अध्ययन गराई ज्ञानोदय माविमै परीक्षा दिने व्यवस्था गरिदिएको बालिका राईले बताइन ।

छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेका शिक्षक गुरागाईँ ज्ञानोदय माविबाट सरुवा भई धरान-१७ स्थित सम्यक शिक्षक स्कुलमा पुगेका छन् ।