धरान : आन्तरिक राजश्व कार्यालयले धरानका व्यवसायी पवन अग्रवाललाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ । आज शुक्रवार आयोजित १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा अग्रवाललाई सम्मानित गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा धरानमा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवसमा सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । गर्ग डेण्टल प्रालिका अग्रवालले आर्थिक वर्ष ०८० /८१ मा ६१ लाख ६० हजार राजश्व बुझाएका थिए ।
सोही अवसरमा उत्कृष्ट कर्मचारी सम्मान राजश्व कार्यालयका लक्ष्मी पोख्रेललाई प्रदान गरिएको छ । राजस्व कार्यालयले ‘कर प्रणालीको सार, लगानीको आधार’ नारा सहित मनाएको सप्ताहव्यापी कार्यक्रमको आज समापन गरिएको हो ।
प्रमुख अतिथि इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीले कर प्रणालीलाई आधुनिकीकरण गर्न, प्रविधिमैत्री जनशक्ति विकास गर्न, कार्य प्रक्रिया सरलीकरण गरिने पर्ने कुरामा जोड दिए ।
उनले भने ‘कर छली रोक्न राजश्व कार्यालयले अझ बढी सक्रियता अपनाउन आवश्यक छ ।’ व्यवसायीहरूलाई थप कर र भ्याट बिल सम्बन्धी शिक्षा प्रदान गर्नु पर्ने कुरामा उनले कार्यालयलाई ध्यानाकर्षण गराए ।
सप्ताहव्यापी कर दिवस समापनको अध्यक्षता राजश्व कार्यालय प्रमुख बुद्धिप्रसाद आर्चायको सभापतित्वमा भएको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति थियो ।