धरान : लियो क्लब अफ विजयपुर धरानले आयोजना गर्दै आएको अन्तर विद्यालय ५ के रन दौड प्रतियोगिताको तेस्रो संस्करण आउँदो मङ्सिर २२ गते गर्ने भएको छ ।
क्लबले सोमबार पत्रकार सम्मेलन यसपालि दौड प्रतियोगितामा १ हजार जना सहभागी रहने जनाएको छ । अन्तर स्कुल ५ के रन सन २०२२ देखि सुरु भएको हो ।
पहिलो पटक भएको प्रतियोगितामा ७०० जना स्कुले धावक, धाविका सहभागी थिए । दोस्रो प्रतियोगितामा ७५० जना सहभागी रहेको आयोजक क्लबका प्रेसिडेन्ट प्रदोस अधिकारीले बताए ।
प्रतियोगितामा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागी हुने पाउने उनले जानकारी दिए । प्रतियोगिता कक्षा ७ देखि १० सम्म र कक्षा ११ देखि १२ का छात्र तथा छात्रा ४ समूहमा हुने बताइएको छ ।
प्रतियोगितामा सहभागिता निवेदन दर्ता मङ्सिर १७ गते भित्र गरिसक्नुपर्ने छ । दर्ता शुल्क २५० रुपैयाँ तोकिएको छ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाहरूलाई ९ हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार, मेडल र उपहार भौचर प्रदान गरिने छ । सहभागीहरूले निःशुल्क टिसर्ट पाउने छ ।
दौडको रुट भानु चोकबाट पुतली लाइन, कल्याण चौक, पानीटंकी, चतरा लाइन, छाता चोक, सिंहदेवी, पुरानो बजारबाट देशीलाईन हुँदै भानु चौक अन्तिम विन्दु हुनेछ ।