धरान : माघे सङ्क्रान्तिमा धरानका मधेसी समुदायले सामूहिक खिचडी पर्व मनाएका छन् । नेपाल वैश्य युवा सङ्घले मङ्गलवार खिचडी पर्व आयोजना गरेको थियो ।

प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले माघे सङ्क्रान्ति विभिन्न समुदायले आ-आफ्नै संस्कृति अनुसार मनाउने पर्व भएको बताए । उनले मधेसी समुदायको खिचडी पर्व पनि मौलिक पर्व भएकोले यसको संरक्षणमा जोड दिए ।

उक्त अवसरमा काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भत्तिराज शर्मा, अधिकृत वेदराज सापकोटा, कार्यपालिका सदस्य अनुप देवानले शुभकामना प्रकट गरेका थिए ।

सङ्घका अध्यक्ष विजय साहको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सङ्घका सदस्य भरतराज शर्मा गोपालले गरेका थिए ।

मिथिलाका परम्परामा माघे सङ्क्रान्ति ‘तीला सङ्क्रान्ति’को रूपमा मनाइन्छ । घरको ज्येष्ठ सदस्यको हातबाट टिका लगाउने र गुड मिसाइएको तीलचामल खाने र विशेष वचन लिने परम्परा छ । तीला सङ्क्रान्तिको दिन तील खाने सन्तान, आफन्तले वृद्धावस्थामा अभिभावकप्रति सेवा गर्ने वचन लिने गर्छन् ।