धरान : सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक दर्ता गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन लागेकोमा धरानका स्वतन्त्र सचेत युवा समूहहरूले आज बिहीबार जुलुस प्रदर्शन गरी विरोध गरेका छन् ।
युवाहरूको समूहले छाता चोक देखि भानुचोक सम्म मुखमा कालो पट्टी बाँधेर विरोध जुलुश गरेका हुन ।
नवीन राईको नेतृत्वमा प्रदर्शन गरिएको विरोध जुलुसका सहभागीहरूले बोल्न दे सरकार, जनताको वाक स्वतन्त्रता खोस्न पाइँदैन, सामाजिक सञ्जाल विधेयक खारेज गर, जनतालाई तर्साएर शासन गर्न पाइँदैन, रोजगार त दिएनौ बोल्न पनि नदिने जस्ता नारा लेखिएका पम्प्लेट छातीमा टाँसेका थिए ।
भानुचोकमा कोणसभा गर्दै ‘बोल्न दे सरकार’ भनी नाराबाजी गरेका थिए । सभामा संयोजक राईले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नागरिकको वाक स्वतन्त्रता खोस्ने विधेयक ल्याएको बताए ।
राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक तत्काल फिर्ता लिनु पर्ने युवाहरूको माग भएको उनको भनाई थियो ।
राईले भने ‘सामाजिक सञ्जालमा देखिएको विकृति नियमनको दायरामा ल्याउनु पर्ने आवश्यकता भएपनि प्रस्तावित कानुन स्वीकार गर्न सकिँदैन ।’
सरकारले सरोकारवालासँग सामान्य छलफल समेत नगरी नागरिकका मौलिक हक हनन हुने गरी ल्याइएको विधेयक फिर्ता लिनुपर्ने बताए । विधेयक तत्काल फिर्ता नलिए सडक सङ्घर्षमा उत्रन बाध्य हुने बताए ।
bolna-de-sarkar-2