धरान : नेकपा एमाले धरान २ को अधिवेशनबाट निर्वाचित अध्यक्ष रमेश राई हटाइएका छन् । उनको ठाउँमा ममता पौडेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
गत मङ्सिर २९ मा भएको वडाको पाँचौँ अधिवेशनबाट वडा २ कमिटीको अध्यक्षमा राई पुनः निर्वाचित भएका थिए । अधिवेशनबाट निर्वाचित राईलाई एमाले धरान उपमहानगर कमिटीको सिफारिसमा जिल्ला कमिटी सुनसरीका कार्यवाहक अध्यक्ष परशुराम यादवले हटाएका हुन ।

यादवले फागुन १८ गते धरान नगर कमिटीलाई पत्राचार गर्दै पार्टी कमिटीको वडा २ अध्यक्षमा ममता पौडेललाई अनुमोदन गरेका हुन ।
राईलाई जनप्रतिनिधि पार्टीको कार्यकारी पदमा रहन नहुने भनी हटाइएको बताइएको छ । उनी धरान उपमहानगरपालिका वडा २ का निर्वाचित वडाध्यक्ष हुन ।
एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी प्रमुख अतिथि, जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय इन्चार्ज मीनकुमार सुब्बा अध्यक्ष मण्डलको रहेको अधिवेशनले राईलाई पार्टीको वडा अध्यक्षमा निर्वाचित गरेको थियो ।
माथिल्लो पार्टी नेतृत्वको उपस्थितिमा निर्वाचित भएको राईलाई एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले कुनै हालतमा वडाध्यक्ष नस्विकार्ने भनी जिल्ला कमिटीमा निवेदन दिएका थिए ।
सोही आधारमा जिल्ला कमिटीले राईलाई हटाएर पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ । वडा अधिवेशनमा कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र बस्नेत, सचिवमा प्रकाश ल्वागुन, उपसचिवमा कृष्ण ठाकुर र स्वस्तिका उदास चयन भएका थिए ।
वडा अध्यक्ष राईसँग फोन सम्पर्क गर्दा राईले भने ‘घरभित्रको कुरा हो । पत्रकारहरूले चासो नदिएकै राम्रो घरभित्र के-के हुन्छ हुन्छ ।’
उनले आफूलाई हटाएको अफवाह फैलाएको होकि के हो आफू अन्योलमा रहेको बताउँदै भने ‘ममता बहिनीको पनि इन्टेन्सन चैँ थिएन तर खोइ कसरी भइरहेको छ ।’
एमाले धरानका एक सदस्यका अनुसार पार्टी भित्र गुटतन्त्रको जरा तल्लो कमिटी पुगेको बताए । मञ्जु भण्डारी पक्ष र हर्कजंग एभेङ पक्षको गुटले गर्दा वडा २ मा ममता पौडेललाई अध्यक्ष बनाएको उनको भनाई छ ।
वडा अधिवेशनमा वडा समितिले केन्द्रीय सदस्य मञ्जु भण्डारीलाई प्रमुख अतिथि बनाउँदा नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले असहमति जनाएका थिए । एभेङले प्रदेश कमिटी सदस्य मोतीराज सुनुवारलाई अधिवेशनमा प्रमुख अतिथि तोकेका थिए।
अधिवेशनमा मञ्जु भण्डारी नै प्रमुख अतिथि भएपछि विवाद बढेर नगर कमिटीले अधिवेशनको निर्णय नै उल्टाएको एक एमाले नेताले बताए ।
जिल्ला अध्यक्ष यादवले वडा अध्यक्ष ममता पौडेल सहितको १७ सदस्यीय समितिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन निर्देशन दिएका थिए।
सोही निर्देशन अनुसार पौडेललाई आजै धरान नगर अध्यक्ष हर्कजंग एभेङले शपथ ग्रहण गराएका छन् । एमालेका नगर अध्यक्ष एभेङलाई पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन ।