धरान : विकिपिडिया नेपालीमा आँखाका डाक्टर सन्दुक रुइतलाई ‘दृष्टिका देवता’ भनिएको छ । मोतिया बिन्दुको 'रुइतेक्टोमी’ शल्यक्रिया प्रविधिबाट रमन म्यागसेसे पुरस्कार पाएर उनी विश्व चर्चित भए ।
नेपालमा भने उनलाई उपचारको पहुँच बाहिर दुर्गम ठाउँका हजारौँलाई निःशुल्क दृष्टिदान गर्दै आएकाले देवता भनिएको हुनसक्छ । कालान्तरमा उनको मूर्ति र मन्दिर पनि बन्न सक्छ, सुरुआत भने धरानमा गरिएको छ ।

धरान-४ सेउती खोला पारी किनारमा विकास गर्न थालिएको ‘ढुङ्गेकला पार्क’मा पुग्दा धनकुटाका मूर्तिकार शङ्कर बराइली ६ फिट भन्दा ठुलो वर्गाकार ढुङ्गामा मिहिनेतसाथ सन्दुक रुइतको तस्बिर खोप्दै थिए ।
एकातिर रुइतको तस्बिर खोप्ने काम सकिएको थियो । उनी अर्कोतिर डा.रुइतले आँखाको शल्यक्रिया गरिरहेको दृश्य खोप्दै थिए । उनले रुइतकै मूर्तिकला रोज्नुको कारण भने ‘उहाँ आँखा नदेख्नेहरूका लागि अप्रेसन गरेर आँखा खोल्दा पहिलो पटक देखिने भगवान् हुन ।’
दर्जन अजंगका ढुङ्गा
ढुङ्गामा खोपिएका कलाहरूको पार्क बनाउन लागिएकोले अजंगका ढुङ्गाहरू लहरै छन् । निर्माण परियोजना व्यवस्थापक भैरव आङ्गलाका अनुसार ढुङ्गाहरू नजिकैको सेउती खोलाबाट ल्याइएका हुन । अधिकांश ढुङ्गा मूर्तिकारहरूले धमाधम खोप्दै गरेका छन् ।
एउटामा ‘राष्ट्र गान’ कुँदिएको छ । व्याकुल माइला रचित राष्ट्र गान नेपालमा पहिलो पटक ढुङ्गामा कुँदिएको आङ्गलाले बताए । उनले भने ‘यस अघि नै कहीँ राष्ट्र गान ढुङ्गामा कुँदिएको छ कि भनी हामीले बुझ्यौँ, हामी नै पहिलो रहेछौँ ।’
देशको लागि योगदान गर्ने जिउँदा व्यक्तिहरूको शिलाचित्र ढुङ्गामा बनाउने अवधारण अनुसार सन्दुक रुइतको ढुङ्गे चित्रकला बनाइएको उनले बताए । गौतम बुद्धको ढुङ्गे चित्रकला पनि बनिसकेको छ । ढुङ्गामै किताबमा वैज्ञानिक महावीर पुन, बिजुली बल्बमा कुलमान घिसिङको चित्र पनि बन्दैछ ।
ढुङ्गेकलामा राष्ट्रिय विभूतिहरूको चित्रकला पनि खोपिने छन् । समसामयिक नेपाली मूर्तिकलाहरू पनि ढुङ्गामा खोपिने छन् । अहिले ८ वटा अजंगका ढुङ्गामा काम भइरहेको छ । आङ्गलाले दर्जन जति ढुङ्गेकला पार्कमा रहने बताए ।
मूर्तिकारहरूबाट श्रमदान
पार्कमा राखिने ढुङ्गे कलाको अवधारणा कला संयोजक वरिष्ठ मूर्तिकार रोजन राईले तयार गरेका हुन । पार्कको डिजाइनमा राखिने ढुङ्गेकलाका विषयमा उनले एक हप्ताको कार्यशाला सञ्चालन गरेका थिए । त्यसपछि पनि मूर्तिकारहरू समय मिलाएर आउने ढुङ्गामा चित्रकला खोप्ने कार्य गर्दैछन् ।
पार्कको लागि ढुङ्गेकलामा श्रमदान गर्न इच्छुक मुर्तिकारहरुलाई सहभागी हुन आव्हान गरिएकोमा विभिन्न जिल्लाबाट ७ जना कलाकार पार्कमा जुटेका छन् । धनकुटाका शङ्कर बराइली, मोरङ केचनाका सुमन राई, खोटाङका अनिल राई र विनोद राई, धरानका थम्वरसिंह लिम्बू, ध्रुव राई, सन्जय राई जुटेका हुन ।
राईका अनुसार मूर्तिकारहरूले पार्कमा रहने ढुङ्गेकला तयार गर्ने कार्य श्रमदानमा गरिरहेका छन् । बाहिरका मूर्तिकारहरूलाई खाना, बस्न र खाजा बाहेक छुट्टै पारिश्रमिक प्रदान गरिएको छैन । उनले भने ‘उहाँहरूको अनुकूल समयमा काम गर्न पनि सक्छ ।’
१६ फिट अग्लो वडा ४
धरान-१५ नीराजन बस्तीको बाटो सेउती पुल तरेर धरान–४ उकालो खैरेनीटरमा १६ फिट अग्लो ४ लेखिएको प्रतिमा देखिन्छ । त्यही हो निर्माणाधीन ‘ढुङ्गेकला पार्क’ ।
बाटो पूर्वपट्टि वडा कार्यालय पश्चिम पट्टि पार्कमा वडा चिनाउने यति ठुलो अङ्कको मात्र प्रतिमा बनाइएको नेपालमा सम्भवतः पहिलो हो ।
‘४’ अङ्कको प्रतिमा बनिसकेपछि आकर्षक र आगन्तुकहरूका लागि सेल्फि खिच्ने स्थल बन्ने स्वतन्त्र नागरिक समाजका मेघबहादुर राईले बताए । प्रतिमा निर्माणको जिम्मा श्रमदान समूह ‘म्याक्स’ले लिएको छ । राईका अनुसार निर्माण सामाग्री सौजन्यमा र काम श्रमदानमा भइरहेको छ ।
कङ्क्रिटको ढालाई गरी निर्माण गरिएको ४ अङ्कको प्रतिमा निर्माण सरकारी प्रक्रियामा गए ५ लाख रुपया भन्दा बढी लाग्न सक्छ । उनको भनाई थियो ‘कमिसन र ठेकेदारको नाफाको कारण यो जस्तो बलियो र चाँडो बन्ने थिएन ।’
दुर्गम वडाको नयाँ पहिचान
साबिक पाँचकन्याबाट धरानमा गाभिएको धरान-४ उपमहानगरको दुर्गम वडामा पर्दछ । वडाध्यक्ष धनबहादुर राईले भने ‘वडामा खानेपानी सहित विकासका आधारभूत कुराहरूको अभाव छ, नगरमा गाभिए पनि उपमहानगरपालिकाले बजेटमा प्राथमिकता नदिँदा वडावासीको आवश्यकताका काम गर्न सकिएको छैन ।’
यस्तो अवस्थामा करोडौँको जनसहभागिता जुट्न सक्ने ढुङ्गेपार्कको योजना धरानको पर्यटकीय विकास र वडा ४ को नयाँ पहिचान बन्न सक्ने उनले विश्वास व्यक्त गरे । निर्माण समितिको अध्यक्ष रहेका वडाध्यक्ष राईले भने ‘पार्कको निर्माणले सुकुम्वासी अतिक्रमण हुनसक्ने जमिन सदुपयोग भएको छ ।’
सेउती किनार करिब २ विघा १० कट्ठा जग्गामा ढुङ्गेकला पार्कको निर्माण गर्न लगिएको हो । वडाको उत्तरी भेग जाने मुख्य सडक छेउ पश्चिम तर्फको जग्गामा केही खयरका रुख छन् । सेउती खोला फराकिलो भएको किनार भएकोले कटानको सम्भावना न्यून छ । उत्तरमा सानो खोल्सो बग्छ ।
बनमारा झाडीको रूपमा रहेको जग्गामा पार्कको अवधारणा पत्रकार भैरव आङ्गलाले अघि सारेका हुन । बनमाराको झाडी श्रमदानबाटै सफाइ गरिएको उनले बताए । आङ्गलाले भने ‘पार्कका सबै काम श्रमदान र व्यक्तिगत प्रयोजनमा भइरहेको छ, उपमहानगरपालिका, वडा, सरकारी निकाय कतैबाट पनि सहयोग ल्याइएको छैन ।’
हर्क साम्पाङ स्टाइलमा
धरानका नगर प्रमुख हर्क साम्पाङले सर्दु खोलामा गरेको पार्कको विस्तारमा सहयोग जुटे जस्तै अब सेउती किनारलाई पार्कको रूपमा विकास गर्न ढुङ्गे पार्कमा पनि सहयोग जुट्ने आशा निर्माणमा लागेका अभियन्ताहरूले गरेका छन् ।
आङ्लाले भने ‘धरान बजारका सबै वडालाई चिनाउन खाली ठाउँ भएसम्मका स्थानहरूमा पर्यटकीय स्थलको विकास गर्न जरुरी छ र त्यसको लागि सरकारी बजेटको मुख ताकेर हुँदैन ।’ श्रमदान र जनसहयोगलाई प्रोत्साहित गरेर पनि योजनाहरू बनेको उदाहरण देखाउनु पर्ने उनको भनाई छ ।
ढुङ्गेकला पार्कस्थलको उत्तरी भागमा ‘आयो गोर्खा पार्क’ निर्माणका लागि गोर्खा भूपूहरूबाट तयारी भइरहेको उनले बताए । पार्क उत्तर-पश्चिम खोलाको डाँडामा मुन्धुमी सांस्कृतिक स्थल निर्माणका लागि किरात याक्थुङ चुम्लुङसँग छलफल भइरहेको छ । किरात राई यायोख्खाले पार्कको पश्चिम तर्फ ‘वाबु’ प्रतिमा सहित पार्क निर्माण गर्ने भएको छ ।
सेउती खोला किनार भए पनि भौगोलिक रूपमा निर्माणस्थल न्यून जोखिम रहेकाले ढुङ्गे पार्कको पूर्वी भागमा भौतिक संरचनामा लगानी गर्न सकिने प्रविधिकहरुले बताएको उनको भनाई छ ।
गुरुयोजना र अनुमानित लागत
धरानको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सक्ने ढुङ्गे कला पार्क निर्माण सम्पन्न भइसक्दा त्यसमा जुट्ने आर्थिक सहयोग र श्रमदानको कुल लागत कति सम्म लगानी हुनसक्छ त्यसको अनुमान भने गरिएको छैन ।
परियोजना व्यवस्थापक भैरव आङ्लाले भने ‘पार्कको गुरुयोजना बनाउने कार्य गोर्खा इन्जिनियरका अनुभवी सहयोगीहरूले जिम्मा लिनु भएको छ ।’ पार्क स्थलमा बन्ने अन्य प्रस्तावित निर्माण कार्यहरूको टुङ्गो लागेपछि मास्टर प्लानले ठोस रूप लिने उनले बताए ।
सरकारी निकायहरूमा पेस गरेर आर्थिक सहयोग माग्ने उद्देश्य नभएकाले पनि गुरुयोजना बनाउनु अघिनै अवधारण अनुसार काम थालिएको उनको भनाई छ । उनले भने ‘हामी आर्थिक हिसाब किताब पारदर्शी बनाउँछौँ ।’