धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले फेसबुकमा '....निलम्बन गर्दै छु' भनि लेखिएका कर्मचारी शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडालाई लक्षित गरेकाे उपमहानगरपालिकाकाे स्रोतबाट थाहा भएको छ ।
रकम हिनामिना गरेको आरोप लगाई निलम्बन गर्ने नगर प्रमुखको तयारी प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाँईले पत्र नकाट्दा रोकिएको स्रोतले बतायो ।

नगर प्रमुख साम्पाङले महाशाखा प्रमुख खतिवडाले फेक बिल बनाई कार्यालयमा पेश गरेको उनको नाम उल्लेख नगरी कारबाही गर्ने सार्वजनिक रूपमा फेसबुक स्टाटस मार्फत बताएका हुन् ।
खतिवडाको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार प्रमुख साम्पाङले लेखेका छन् ‘फेक बिल पेश गरेको कसुरमा एक जना कर्मचारीलाई निलम्बन गर्दै छु । जय धरान ।’
महाशाखाले उपमहानगरपालिकाको क्यान्टिनमा १७ हजार ५६५ को खाजा खाना खाएकोमा अन्यत्रको होटलबाट ५६ हजारको बिल लेखाशाखा पेश गरेको भन्दै नगर प्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाँईलाई निलम्बनको पत्र लेख्न भनेका थिए ।
तर प्रमुख प्रशासकीय अधिकृत चौलागाँई निलम्बनको पत्र नकाटी काठमाडौँ गएको उपमहानगरपालिकाको एक स्रोतले बताएको छ ।
नगर प्रमुख साम्पाङले शुक्रवार महाशाखा प्रमुख र क्यान्टिन सञ्चालकलाई समेत छलफलमा बोलाएका थिए ।
उपमहानगरपालिका हाताको क्यान्टिनमा महाशाखा प्रमुख खतिवडाको खाजा खर्च २०८० सालको चैत्र १ देखि ३० गते कक्षा ८ अनुगमन तथा परीक्षाको उत्तर पुस्तिका परीक्षण गर्दा उपमहानगरपालिका भित्र रहेको क्यान्टिनमा १७ हजार ५६५ को भएको थियो ।
क्याटिक्न सञ्चालकले कक्षा ८ को परीक्षाको उत्तर पुस्तिकाको कपि कट्दा मेरै होटलमा खाएको बताउँदै उनको होटलको हिसाबमा खाना खाजाको रकम १७ हजार ५६५ मात्र भएको जानकारी दिए ।
उनका अनुसार उक्त रकम भन्दा बढीको बिल माग्न शिक्षा शाखाका मान्छेहरू सहित अन्य कर्मचारी आएका थिए । उनले प्रमुख साम्पाङले शिक्षा शाखाको प्रमुख सहित उनलाई छलफलमा बोलाएको पुष्टि गरेपनि छलफल पछि के निर्णय भयो थाहा नभएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत चौलागाँईसँग फोन सम्पर्क गर्दा उनले ‘यस बारेमा मलाई केही थाहा छैन ।’ भन्दै ‘तपाईँ मार्फत थाहा पाएकोले चाडै बुझ्ने’ बताए ।