धरान : धरान बजारमा विक्री वितरणका लागि ल्याइएको मापदण्ड भन्दा अधिक विषादीयुक्त फुलकोपी मकवानपुर जिल्लाको पालुङबाट व्यापारीहरूले ल्याएको पाइएको छ ।
धरान-१३ कृषि उपज बजारमा ल्याइएको २ हजार ४४२ केजी फुलकोपीमा ९७ दलमलब ४ प्रतिशत अर्गानोफ्स्फेट नामक विषादी भेटिएकोले नष्ट गरिएको थियो । कृषि बजारमा आउने फलफूल, खाद्य सामाग्री तरकारीहरू त्यहाँ स्थित कृषि प्रयोगशालामा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट परीक्षण गरी विक्री वितरण गरिन्छ ।
इकाईका नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार पालुङबाट आएको फुलकोपी परीक्षण गर्दा विषादी भेटिएको बताए । उनका अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भएकालाई उपभोग योग्य मानिँदै आएको छ । ३५ प्रतिशत माथि ४५ प्रतिशत केही दिन क्वारेन्टईनमा राखेर बजार पठाउने गरिन्छ । ४५ प्रतिशत भन्दा बढी विषादी पाइएमा नष्ट गर्ने नियम भएको उनले बताए ।
पालुङबाट आएको फुल कोपीमा कार्वामेन्ट र अर्गानोफस्पेट समुह विषादीहरुको मात्र परीक्षण गरिएको हो ।
प्राविधिक रिजालले अन्य विषादी तथा रसायनको परीक्षण हुँदैन । ३५ प्रतिशत सम्म विषादीजन्य सामाग्री उपभोग योग्य मान्ने गरिएको उनले बताए ।
रिजालले भने ‘तर यो फुलकोपीमा ९७ दशमलव ४०१४ र ९३ दशमलव ५५५ प्रतिशत विषादी भेटिएकाले कृषि उपज बजार व्यवस्थापन समितिलाई खबर गरिएको हो ।’
कृषि बजारमा उक्त फुल कोपी व्यापारीद्वय सन्तोष ढकाल र विशाल चौधरीले ल्याएका हुन ।
उनीहरूले १ सय ११ झोलामा २ हजार ४४२ केजी फुलकोपी ल्याएका थिए । त्यस मध्ये ढकालले ७९ झोलामा १ हजार ५४० केजी र चौधरीले ३२ झोलामा ९०२ केजी ल्याएका हुन ।
ढकाल र चौधरीले भने ‘परीक्षण रिजल्ट नआई बजारमा सामान पठाएका थियौ, रिजल्ट आएपछि खबर हुन साथ खुद्रा व्यापारीलाई फोन गरेर फुलकोपी नबेच्न आग्रह गरेका छौँ ।’
उनीहरूले व्यापारीको कुनै दोष नभएको दाबी गर्दै विषादी प्रयोग व्यापारीले नगर्ने किसानले नै गलत गरेको बताए । रिजालले भने ‘हेर्दा चिल्लो चिटिक्क परेको कोपी बढी विषादी प्रयोग भएको हुन्छ, त्यसैले खरिद गर्दा बिचार गरेर मात्र सामान खरिद गर्न आग्रह गर्दछु ।’ व्यापारीले बजारमा पठाई सकेपछि अत्याधिक विषादी भएको रिपोर्ट आएपछि उक्त फुल कोपी कृषि बजार व्यवस्थापन समिती, इलाका प्रशासन, इलाका प्रहरी, नगर प्रहरी संयुक्त प्रयासमा खुद्रा बजारबाट फिर्ता सङ्कलन गरी नष्ट गरिएको हो ।
उपमहानगरपालिकाका उपप्रमुख अईन्द्रबिक्रम बेघा, धरान-१३ का वडाध्यक्ष नेत्र काफले र फुलकोपी ल्याउने २ व्यापारी सहितको टोली बजारको फुलकोपी सङ्कलन टोलीमा संलग्न थिए ।
विषादीको घटना लगत्तै उपप्रमुख बेघाले हरेक व्यापारीले ल्याब टेस्ट गरेर मात्र बस्तु बेच्न कृषि बजारका व्यापारहरूलाई निर्देशन दिए । ल्याब टेस्ट नगरी बेचेका उपभोग्य बस्तु नियन्त्रणमा लिइने उनले चेतावनी पनि दिएका छन् ।

        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
                
                
                
                
        
        
















        
        
















































