धरान : मुलुक जेन-जीको प्रदर्शनमा भएका ठुलो जनधनको क्षति व्यहोर्दै स्थिरता तिर लागेको सङ्केतले सर्वसाधारण नजिक आएको दसैँको तयारीमा लागेको पाइएको छ ।
दशै बजारमा आएको गतिबाट त्यस्तो पाइएको हो । दशै नजिकिँदै गर्दा धरानको कृषि उपज बजारमा असोज महिनामा लागेको दुई पटकको बजारमा २३ करोड रुपैयाँ बराबरको खसी बोकाको कारोबार भएको छ ।
कृषि बजारमा हप्ताको ४ पटक खसी बोकाको बजार लाग्ने गर्दछ । दशैंमा मासुको माग पूर्ति गर्न व्यवसायीहरूले यहाँबाट विभिन्न शहरमा खसिबोका लैजाने गर्छन् ।
बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार असोज महिनामा २ पटक लागेको बजार मार्फत करिब १० हजार ५०० खसी–बोका बिक्री भएका छन् । उक्त परिमाणको सरदर मूल्य करिब २३ करोड रुपैयाँ पुग्छ ।
उनले भने ‘हिजो बिहीबार र आज दुई दिनमा ५ हजार जति खसी–बोका किनबेच भयो यसअघि असोज २ र ३ गते ५ हजार ५ सय जति खसिबोका किनबेच भएको थियो ।’
यो परिमाणको व्यापार सहज तरिकाले भने नभएको उनको भनाई छ । लगातारको वर्षाले साउनमा खसी ढुवानीमै समस्या ल्यायो । त्यसै बिच जेन-जी आन्दोलनमा भएको तोडफोड, आगजनी, लुटपाटले व्यापारीहरू त्रसित थिए ।
सडक अवरोध हुँदा कतिपय किसानले ल्याएका खसी बोका फिर्ता लैजानुपरेको बताउँदै उनले भने ‘विषम परिस्थितमा उपभोक्ता कम आएका कारण कारोबारमा केही घटबढ भयो ।’
कृषि बजारमा खसी बोका आपूर्ति मुख्य रूपमा भोजपुर, सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, पाँचथर र सुनसरीबाट हुने गरेको छ । यही बजारबाट खसी बोका तराई, दमक, उर्लाबारी, ईटहरी, विराटनगर, इनरुवा, लहान, राजविराज हुँदै काठमाण्डौसम्म पुग्छन्। । उनका अनुसार बजारमा वर्षैभरि करिब १ लाख २० हजार खसी बोका कारोबार हुन्छ । त्यसको कुल मूल्यको अनुमान २ अर्ब ४० करोड पुग्छ । एक खसी बोका साधारणयता ६ सय रुपैयाँ प्रतिकिलो दरमा बिक्री हुने गरेको छ ।
यहाँ किसानहरूलाई सहज बनाउन बजार स्थलमै स्वास्थ्य प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । टाढाबाट आएका किसानका लागि बस्ने, पानी-बत्ती, तौलने काँटा, सिसिटिभी र रिफ्रेस सेन्टरको सुविधा उपलब्ध छ । खसीबोका राख्न निःशुल्क खोर पनि दिइन्छ ।दसैँ नजिकिँदै गर्दा बजारमा भित्रिने र बाहिरिने मानिसको चहलपहल अझै बढ्दै गएको छ । मोलतोल गर्दै गरेका उपभोक्ता र बेच्न ल्याएका किसान बिचको उत्साहपूर्ण वातावरणले कृषि बजारमा दसैँ तिहारकै आर्थिक कारोबार र चाडपर्वको रौनक देखिन्छ ।





























































