धरान : नेपालका २६ वटा मेडिकल कलेज मध्ये कम्तीमा पनि २० वटा कलेजका मेडिकल, डेण्टल र प्यारा मेडिकल विद्यार्थीहरू आउँदो माघ १६ देखी २३ गते सम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेला हुने भएका छन् ।
उनीहरू ८ वर्ष पछि दोस्रो पटक विद्यार्थी कल्याण समाजको आयोजनामा हुन लागेको ‘साइन्याप्स २०२६’ विद्यार्थीहरूको बहु विषयक सम्मेलनमा सहभागी हुने भएका हुन । सम्मेलन बारे जानकारी दिन आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नवराज कुमार देवले नेपालका २६ मेडिकल कलेज मध्ये २० वटा कलेजबाट सहभागीहरू आउने बताए ।
उनका अनुसार पहिलो पटक सन् २०१८ साइन्याप्स भएको थियो । गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साइन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको बताए ।
कार्यक्रम संयोजक प्रज्ज्वल खाणले साइन्याप्स २०२६ ले देशभरका मेडिकल, डेन्टल तथा प्यारा मेडिकल विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको बताए । उनका अनुसार नेपालभरका मेडिकल विद्यार्थीहरूको सहभागिताबाट सम्मेलनले आपसी सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान र सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
साइन्याप्स २०२६ ले शैक्षिक गतिविधिसँगै पूर्वी नेपालको चिकित्सा तथा स्थानीय पर्यटन प्रवर्द्धन मा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । साइन्याप्स विद्यार्थीहरूको भेलामा सीमित नभई पाठ्यक्रम बाहिरका बौद्धिक, कलात्मक र शारीरिक क्षमता विकासका लागि राष्ट्रिय मञ्च बन्ने विश्वास गरिएको छ ।
खेलकुद देखि विज्ञान सम्म
साइन्याप्स सम्मेलनमा खेलकुद, साहित्यिक, कलात्मक तथा वैज्ञानिक गतिविधिहरू सञ्चालन हुनेछन् । हुनेछन् । खेलकुदतर्फ अन्तर कलेज क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, फुटसल, क्रिक्सल, कबड्डी, टेबल टेनिस, ब्याडमिन्टन, चेस, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेम प्रतियोगिताहरू हुनेछन् । प्रतियोगिताहरू लिग कम नकआउट प्रणालीमा हुनेछ ।
साहित्यिक कार्यक्रममा क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, स्केचिङ तथा पेन्टिङ, छोटो कथा, निबन्ध, पुस्तक समीक्षा लेखन र कविता प्रतियोगिताहरू हुनेछ । प्रत्येक दिन सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम समेत हुनेछ ।
सांस्कृतिक विधामा अन्तर कलेज नृत्य र गायन प्रतिस्पर्धा, ब्याटल अफ द ब्यान्ड्स, सेसन कार्यक्रमहरू रहने बताइएको छ ।
वाकाथन, रक्तदान र वैज्ञानिक सत्र
सम्मेलनको उद्घाटनका रूपमा स्वास्थ्य सचेतनामूलक वाकाथन आयोजना गरिनेछ । त्यसमा १ हजार २०० देखि १ हजार ५०० सहभागी रहने अपेक्षा गरिएको छ । कार्यक्रम अवधिभर रक्तदान पनि सञ्चालन गरिनेछ ।
वैज्ञानिक सत्रअन्तर्गत विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । सत्रहरूमा विशेषज्ञ न्यायाधीश प्यानल रहनेछ भने बिपी जर्नल अभिलेखहरूमा पहुँच उपलब्ध गराइने आयोजकले जनाएको छ ।
पूर्ण राई र सविन राईको प्रस्तुति
साताव्यापी सम्मेलनको अन्तिम दिन माघ २४ गते लोकप्रिय गायक सविन राई र पूर्ण राई दाजुभाइ सहित ब्याडहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । समापन समारोहमा नृत्य प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।