धरान : धरानका नगर प्रमुख हर्क साम्पाङले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनी पार्टीका केन्द्रीय अध्यक्ष हुन ।
साम्पाङले बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन । उनको अधिकारीक घोषणा फेसबुकबाटै हुने गरेको छ ।
यसअघि तत्कालीन माओवादीका युवा नेता सुदन किरातीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सुनसरी–१ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त समाचार सार्वजनिक भएपछि नगर प्रमुख हर्क साम्पाङले उम्मेदवारीको घोषणा गरेका हुन ।
उक्त २उम्मेदवारी बाहेक काँग्रेस, एमाले, माओवादी तथा नयाँ पार्टीहरूले सुनसरी १ को अधिकारीक उम्मेदवार घोषणा गरेका छैनन् ।
श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष साम्पाङले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ उम्मेदवार बन्ने स्वघोषणा गर्दै फेसबुकमा लेखेका छन् ‘म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु, जय माटो, जय देश ।’
सुनसरी १ संसदीय निर्वाचन क्षेत्रमा धरानको २० वटा वडा, वराहक्षेत्रको ५ र रामधुनी नगरको २ वटा वडा समेटिएको छ । अघिल्लो निर्वाचनमा सुनसरी १ बाट एमालेको समर्थनमा जसपाका अशोककुमार राई निर्वाचित भएका थिए ।