धरान : पछिल्लो समय मासु पारखीहरूका लागि जङ्गली कुखुरा कालिज लोकप्रिय बनेको छ । कालिजको व्यवसायीक उत्पादनसँगै कालिजको परिकार चखाउन मोरङको केराबारी-६ मा खुलेको कालिज रेष्टुरेन्ट अहिले पर्यटकीय गन्तव्य बनेको हो ।
शहरी कोलाहलबाट बाहिर शान्त प्रकृति केराबारी सानो राङ्चा स्थित कालिज फर्म सहितको रेष्टुरेन्ट कालिज फर्म सहित करिब २ बिगाहामा फैलिएको छ । सञ्चालक हरि भट्टराईले भने ‘कालिज पालन नयाँ व्यवसाय हो, यसले पर्यटन प्रवर्द्धन र कृषि उत्पादनको दुवै लक्ष्य लिएको छ ।’
उनका अनुसार फर्म तथा रेष्टुरेन्टमा हालसम्म २ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । धरान करिब १२ किलोमिटर, पानवारीबाट ५ किलोमिटर र केराबारी बजारबाट झण्डै ५ किलोमिटर दूरीमा छ कालिज रेष्टुरेन्ट ।
तरको शिर, पहाडको काखमा सञ्चालित रेष्टुरेन्ट प्राकृतिक दृश्यावलोकन, खुला हरियाली र शान्त वातावरणको कारण सबैका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । बैङ्क, कर्पोरेट क्षेत्र लगायतका पारखीहरू रमाइलो भ्रमणका लागि यहाँ पुग्ने गरेका छन् ।
रेष्टुरेन्ट परिसरभित्र फर्ममा हाल ७०० वटा कालिज पालिएका छन् । फर्मको क्षमता र लक्ष्य ४ हजार ५०० को सङ्ख्यामा कालिज हुर्काउने रहेको सञ्चालक भट्टराईले बताए । उनले भने ‘बजारमा कालिजको मासु र चल्लाको माग अत्यधिक छ ।’
उनको फर्ममा उत्पादित मासु पूर्वका तारे होटेल तथा पर्यटकीय स्तरका होटेलहरूमा आपूर्ति हुँदै आएको छ । भट्टराइका अनुसार फर्मको लक्ष्य वार्षिक ३ हजार कालिज बिक्री गर्ने राखिएको छ ।
कालिजको मासु खान आउने आगन्तुकहरूले यहाँ रोजेरै कालिजका परिकार छनोट गरी खाने सुविधा पाउँदै आएका छन् । रेष्टरेन्टमा फार्ममै पालिएका लुइँचे जङ्गली कुखुरालाई ३ हजार रुपैयाँमा काटेर खाने व्यवस्था गरिएको छ ।
सञ्चालक भट्टराई भन्छन् ‘यो रेष्टुरेन्टको फरक पहिचान हो ।’ उनका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सामूहिक कार्यक्रमलाई लक्षित गरी १५० जनासम्म अट्ने सभा, सेमिनार तथा पार्टी हलको सुविधा उपलब्ध छ ।
२०-२५ जनासम्म अट्ने छुट्टै मिटिङ हल छ । १३ जना सम्मको समूहमा बस्न मिल्ने हल निर्माणाधीन अवस्थामा रहेको छ । रेष्टुरेण्टमा ४ वटा एसी सहितका कोठा उपलब्ध छन् ।
रेष्टुरेन्ट परिसरमा १५ कट्ठा क्षेत्रफलमा दुबो सहितको आकर्षक गार्डेन निर्माण भइरहेको छ । नाचगान गर्न मिल्ने खुला स्थान तथा रातिको समयमा क्याम्प फायरको व्यवस्था गर्ने सुविधा प्रदान गरिँदै आएको छ ।
विदेश जाने मोह त्यागेर स्वदेशमै केही गरौँ भन्ने सोचले विवेक भट्टराई र हरि भट्टराईले संयुक्त रूपमा फर्म र रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन । कलेज रेष्टुरेन्ट स्थापनाले स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्वदेशी कृषि उत्पादनको उपयोगमा नयाँ उदाहरण स्थापित गर्न खोजेको छ ।